बालदिवस


दुर्गा वनवासी

अन्तर्राष्ट्रिय बालदिवसको अवसरमा हरेक वर्षजस्तै यो वर्ष पनि अरु संघ–संस्थाहरुको भन्दा भव्य र गरिमामय कार्यक्रम गर्यो त्यो संस्थाले । बालबालिकाहरुको उल्लेख्य उपस्थिति थियो कार्यक्रममा । यसपटक एक अमेरिकन दाताको हातबाट कार्यक्रमको उद्घाटन भयो । थुप्रै दातृराष्ट्रका स्वयंसेवकहरुको उपस्थिति थियो यो वर्ष ।
वार्षिक प्रतिवेदन, आय–व्यय विवरणलगायतका कागजी जानकारीहरुपश्चात उपस्थित अनाथ बालबालिकाहरुलाई पोशाक र जुत्तासहितको झोला वितरणको कार्यक्रम पनि भव्यताका साथ सम्पन्न भयो । अनगिन्ती श्रव्यदृश्य माध्यम एवम् पत्रपत्रिकाका माइक, क्यामेरा, रेकर्डर निकै सकृय भए । त्यसपछि बालबालिकाहरुलाई भोजन गराउने कार्यक्रम रहेको थियो । केही आयोजकहरु यताको तयारीमा जुटे भने अरु केहीले ती बिदेशी पाहुना, अन्य अतिथिहरु तथा मिडियाकर्मीहरुका लागि व्यवस्था गरिएको सुविधासम्पन्न पाँचतारे होटेलतिर उनीहरुलाई प्रस्थान गराए । होटेललाई मोटो रकमसाथ गरिएको आग्रहअनुसार बाल मजदूरहरुलाई आज छुट्टी दिइएको थियो ।
कार्यक्रम स्थलमा जम्मा गरिएका बालबालिकाहरु नयाँ लुगा, जुत्ता र झोलाको प्राप्तिसँगै मीठामीठा पकवान तथा व्यञ्जनमा रमाइरहेका थिए । एकजना आयोजकले पाले दाइलाई इशारा गरे । पाले दाइले कार्यक्रम हलसँगैको अँध्यारो भण्डार कोठाको ताला खोलिदिए । त्यसपछि ती बच्चाहरुलाई पालैपालो उपहारका झोला त्यस कोठामा राख्न लगाइयो । बच्चाहरुले त्यो कर्कश आदेश चुपचाप पालन गरे र मलिन अनुहारसँगै कार्यक्रम हलबाट बाहिरिए।
बस्।