तर्कको गन्ध


हेमराज अधिकारी

फर्सीको टुप्पोले इस्कूसको टुप्पोलाई ठेठ भाषामा भन्यो। “तँ झ्यालको पर्खाल बनेर बस्न मात्र जान्दछस्, फैलिन जान्दैनस्। घामको ताप सहेर रसीलो बन्न सिक्, म जस्तै।” “फर्सी दाइ, बाहिरको चमक भन्दा भित्रको रस ठूलो कुरा हो। तैँ मिठासको गर्व गर्छस् , म शरीरको ताजगी दिन्छु। हाम्रो बाटो फरक, तर उद्देश्य एउटै। मान्छेलाई केही दिनु।”
फर्सीले सुँघ्रिँदै भन्यो। “म काँडामा झुन्डिएर होइन, आफ्नै लम्काइमा बढ्छु। तैँले अरूको सहारामा बाँच्छस्, म स्वाभिमानी हुँ।”
इस्कूस हाँस्यो। “सहारा लिनेले नम्रता सिक्छ, लम्किनेले घमण्ड। भित्ताको बिना तँ पनि फाँटिलो हुँदैनस् फर्सी दाइ।”
बाझाबाझ लामो चल्यो। दुबै टुप्पोले आफूलाई सर्वोच्च ठानिरहे। अन्ततः वर्षाले प्रहार गर्यो, भित्तो भत्कियो, काँडा ढल्यो। इस्कूस जमिनतिर लड्कियो, फर्सी पनि साथै चिप्लियो। दुवैको बोट टुक्रिएर माटोमा फिँजियो। अर्को बिहान आँगनकी बुढी आमा आइन् । हातमा हँसिया थियो। “यी टुप्पाहरू त एकअर्कालाई हराएर बाँच्ने सपना देख्थे, अब दुबै बाख्रालाई खुवाउँछु,” उनले भनिन्।
माटोमा फर्सीको बीउ र इस्कूसको गेडा निचोर्दै उनले थपिन्। “मान्छे पनि यिनैजस्ता हुन्, जोसँग तुलना गर्छन्, त्यहीसँग सँगै गाडिन्छन्।”
घाम उक्लियो, बाख्राले ती हरिया टुप्पा चपायो। फर्सीको मिठास र इस्कूसको रस दुवै हराए। केवल माटोमा एक गन्ध बाँकी रह्यो, घमण्ड र तर्कको गन्ध।