
रम्भा पौडेल
“बा, म पनि जान्छु है !”
“कहाँ जाने ?”
“तपाईँ सधैँ जाने त्यो मिटिङमा । कस्तो हुँदोरहेछ त्यो पार्टीको मिटिङमैले पनि हेर्छु है !”
“भो जान परको छैन । पार्टीको मिटिङमा कमिटी भन्दा बाहिरको मान्छेलाई लैजान मिल्दैन नि बाबु । तिमी त अझै सानै छौ । पार्टीको मिटिङमा के कुरा बुझ्छौ र तिमीले ?”
“नाइ जान्छु म पनि !”
“पाटीको गोप्य कुरा मैले कसलाई भन्छु र ? हजुर सधै पार्टी भनेर हिड्नु हुन्छ।
कहिल्यै टिकट पाउनु हुन्न । यो सरकारले चाडै चुनाव गराउने भनेको छ नि । तपाईँहरुको योजना के रहेछ म पनि सुन्छु नि ।”
छोराले जिद्दी गर्दै फेरी भन्यो, “आज स्कुल बिदा छ के बा । त्यै भएर जान खोजेको ।”
धेरै जिद्दी गरेपछि बाबुले ‘लल हिँड’ भन्नुभयो।
“तिमीलाई कतै बस्ने व्यवस्था गरौँला । बाहिर बस्छौ त ?”
छोराले ‘हुन्छ’ भन्यो।
दुबैजना खाना खाएर पार्टीको बैठकतिर लागे । पार्टीकार्यलय पुगेपछि छोराले माथि बोर्डतर्फ हेर्दै भन्यो, “ए बा, तपाईँको पार्टीको नाम काउली पार्टी हो ?”
“कसले भन्यो ?”
“उ बोर्डमा लेखेको छ।”
“ए सबैतिर हेर्ने भैसकेछौ नी त ।”
दुवैजना पार्टीकार्यलयको बैठक कक्षमा पसे । बाले सबैलाई नमस्कार गर्नुभयो । उत्तरमा नमस्कार ,जयनेपाल ,लालसलाम ,जयदेश भनेको ,छोराको कानमा गुन्जियो।
“छोरालाई पनि पार्टी सदस्यता दिन लाग्नुभयो कि क्या हो सर ?” कुनामा बसेका पातला मान्छेले भने । हलमा भएका सबै हलल हाँसे । केटो नबोली उभिइरह्यो।
“छोरोले आज सारै जिद्दी गर्यो अनि लिएर आएँ । सधैँ काहाँ जान्छ बाउ भनेर आज यसले चियो गर्न आएको जस्तो छ ।” बाउका शब्दले फेरी सबै हाँसे।
“उ उता छेउको कुर्सीमा बस बाबु ! यो बाबु बैठकमा बसेर केही फरक पर्दैन । यिनले पनि सिक्दै गर्दछन् नी ।” अर्को कुर्सीमा बसेका एकजना भलादमी व्यक्तिले भने।
छोराले चुपचाप बसेर सबै गतिविधि हेरिरह्यो । बैठक चुनाव केद्रित रहेछ । चुनावका लागि टिकटको मोलमोलाई भएको कुरा उसले सुनिरह्यो । बैठकमा चर्काचर्की वादविवाद भएको थियो । साँझ भयो तर टुँगो लागेन । भोलि फेरी बैठक बस्ने गरी सबै उठे । बाबु छोरा पनि घरतर्फ लागे।
बाले खुईय गर्दै आफनो झोला घरको पेटीमा बिसाउनु भयो।
छोराले भन्यो,“बा, यो काउली पार्टीको जाबो वडा सदस्य हुन पाँच लाख बुझाउन पर्ने ? अझै प्रदेश र केन्द्रमा टिकट पाउने ले कति बुझाउन पर्छ होला ? म सानो मान्छेले पनि कुरा बुझिसकेँ ।”
भ्रष्टाचार त्यसै बढेको हो ? त्यै पाँच लाख उठाउन फेरी भ्रस्टाचार गर्नुभन्दा आफ्नै बारीमा काउली फलाउँ बा । भो, भोलिदेखि तपाईँ यो पार्टीमा जानै पर्दैन ।” छोराले कुरो बुझेको देखेर बा छक्क पर्नु भो।





