“ममता”


गणेश आत्रेय
मदनपोखरा,पाल्पा

पिता र माता बहिनी र भाइ;
दिदी भिनाज्यू मित बन्धु दाइ।
छिमेक आफन्त र इष्टमित्र;
समाजका वृद्ध प्रवुद्ध भित्र॥

विचार विश्वास गिजोलिँदैछन्;
ममत्व सद्भाव बिथोलिँदैछन्।
बढाइएकोछ तितो अमेल?
हराइएको ममता अचेल॥

न प्राच्य पाश्चात्य रह्यो निशानी;
नसाउँदै संस्कृति धर्म ज्ञानी।
कुरीति-सिद्धान्त-विचार-मानी;
विजाति वैरी पनि मित्र ठानी॥

भँड्याइयो देश र भेष सारा;
चुनेर नेतृत्व गरीब मारा।
तनाव ईर्ष्या तुष द्वन्द्व ड्रामा;
फलाइयो सांसदका सभामा॥

बुझी युवा-वर्ग जुटेर जाग;
नयाँ सुनौलो युगतर्फ लाग।
सँभाल यो देश समाजलाई;
सुयोग्य श्रद्धा ममता जगाई॥