खुशी

पोखरा महानगर-३२ सिस्टेनी फाँटबाट देखिएको रुपातालमा माछापुच्छ्रे हिमालको छाया । तस्बिर : जमुनावर्षा शर्मा / रासस


प्रेम पन मगर
ढोरपाटन नगरपालिका ४ बागलुङ
हाल पोखरा जिमिरे

“ए हेर्नुस् त हजुरबा !”
छिमेकी केटाको आवाजले प्रेम झसङ्ग ब्यूँझियो। ऊ हतारिँदै आँगनमा आयो र टाढा नजर उठायो।
माछापुच्छ्रे हिमाल सेतो टल्किरहेको थियो।
उसले केही दिनअघिको दृश्य सम्झियो—उही शिखर कालो, नाङ्गो, हिउँविहीन। त्यसबेला किन हो मन पनि त्यस्तै भारी भएको थियो। काममा जाँदा–आउँदा उसले शिखर हेर्थ्यो, तर आँखामा चमक आउँदैनथ्यो। आज भने फरक थियो।
घामको पहिलो किरणले हिउँमा सुनौलो रेखा कोरेको थियो। कालोबाट सेतो बनेको त्यो रूपान्तरणले उसको मनभित्र केही चिर्दै उज्यालो भित्र्यायो।
उसले आफैसँग बुदबुदायो— “अन्धकार त क्षणिक रहेछ।”
केही दिनको मलिनता, थकान, चिन्ता… सबै मानौँ त्यो सेतो हिउँले ढाकिदियो।
उहाँले बुझे—जसरी शिखर फेरि उज्यालो हुन्छ, त्यसरी नै जीवन पनि फेरि हाँस्छ।
त्यो बिहान, उसले पहिलो पटक महसुस गर्यो— खुशी बाहिर देखिने दृश्य होइन, फर्केर आउने आशा रहेछ।