“हामी पढौँ पुस्तक”


घनश्याम रेग्मी

नौला ज्ञान सिकाउने गुरु यही सत्‌मार्ग हो पुस्तक
बाटो हिँड्न सिकाउने विषयको आदर्श हो पुस्तक
सारा उन्नतिको बही प्रगतिको पाना यही द्योतक
बत्ती बाल्न सिकाउने प्रविधिको आयाम हो पुस्तक।

आफूभित्र समेट्छ अक्षरहरू पर्खिन्छ साथी सधैँ
बोकी शब्द र भाव खात रमिता बस्ने छ साक्षी सधैँ
बोल्छन् चित्र चरित्र दुःख सुखका भाषा टिपी लोकका
हुन्छन् नैतिक पाठका प्रिय कथा आलोक आलोकका।

सङ्ख्या साङ्ख्य कला पला गणितका सामर्थ्य जम्मा गरी
वर्षौं वर्ष समेट्छ राख्छ मुटुमा खाका र भाका भरी
तारा सूर्य खगोल गोल गणना के छैन खोजे यहाँ
द्यौता मानिसका कथा उपकथा सादृश्य हुन्छन् जहाँ।

यो निर्जीव छ देखिँदा तर युगौँ बाँच्ने कला जान्दछ
यो हिँड्दैन तथापि देश दुनियाँ घुम्ने कुरा भन्दछ
मान्छेका मनभित्रका सब कुरा एकेक जम्मा गरी
खोजेका पल सुम्पिदिन्छ यसले पाना खजाना भरी।

पानी घाम झरी बतास युगका खप्दै बढे वृक्ष ती
आफ्नो जीवन सुम्पिए मनुजको उद्धारको पक्ष ली
आफ्ना तन्तु दिएर कागज बना सौभाग्य लेखेस् भने
सोही कारण वृक्ष यो प्रकृतिका कल्याणकारी बने।

लाखौँपल्ट ठटाइए मसिनमा सङ्घर्ष लामो गरे
नौलो जीवननिम्ति ठक्कर सहे आदर्श देखा परे
यस्तै चोट सहेर जीवन नयाँ पाएर मान्छे भयौँ
हामी कागज हौँ र अक्षर थपी आकार यस्तो लियौँ।

जे जे होस् समता छ मानिस तथा पाना हुने पुस्तक
खप्दै चोट अनेक बन्धन सह्यौँ मान्छे भयौँ वास्तव
हाम्रो जीवन सृष्टिको कलमले लेख्ने यही पुस्तक
बुट्टा चित्र कथा र अक्षर खिपी हामी पढौँ पुस्तक।।