“हामी र हाम्रा नदी”


कृष्णशरण उपाध्याय पौडेल

हामी जन्मनु पूर्व छल्छल थिए, सारा नदी का जल
हाम्रो मृत्यु पछाडि कल्कल हुनन्, हाम्रा नदी निर्मल
बग्छन् नित्य नदी गभीर गतिमा , पारी धरा उर्वरा
पाई सो जल धन्य छन् तरु सँगै यो जिन्दगी का जरा।

उस्तै हुन् यस देश का हिमनदी, कृष्णा र कोशीहरू
कर्णाली कमला नदी अरुण या राप्ती र रोसीहरू
हामी शत्रु हुंँदा यसै प्रकृति का,बन्छन् नदी चण्डिका
बन्छन् मृत्यु समान निर्मम उनै , अत्युग्र उद्दण्डिका।

धर्ती माथि बनी शिरा र धमनी, बग्छन् नदी निर्झर
पार्छन् प्राण हराभरा तरुजरा, गर्छन् धरा शीतल
हर्छन् यो मन नीलनील रङले , हज्जार हाम्रा नदी
मेटी प्यास सधैँ सबै सृजनमा,दिन्छन् सुखी जिन्दगी।

यो हो सत्य परन्तु तुच्छ घटिया, हामी हुँदा के भयो ?
हाम्रा ज्ञानहरू अधोमुख भई, पातालिँदा के भयो ?
नाला बन्नु परेर फोहर हुँदा , साह्रै रिसाए नदी
हाम्रा पाप बिरुद्ध गर्जन गरी , बोझा बिसाए नदी।

बौलाएर बगे यिनै हिमनदी , छाडेर बाटाहरू
भत्काएर बहे नदी सब लगी , बारी र पाटाहरू
हामी माथि रिसाउँदै अझ बढी , धेरै बगाए घर
हाम्रा पौरख का विशाल नगरी , मानौँ बने पत्कर।

हामी सृष्टि बिरुद्ध निर्मम हुँदा , भेट्ने विपद् कष्ट हो
हामी स्वार्थ निमित्त पागल हुँदा,भेट्ने धरा ध्वस्त हो
खन्छौँ उच्च पहाड डोजर लगी , माटो नजानी बुझी
पार्छौँ खल्बल गर्दछौं मन परी , बेकार मर्छौं जुधी।