
कृष्णशरण उपाध्याय पौडेल
हिजोभन्दा आज हामी, स्वार्थी बन्दै जाँदा
अधोगामी अहङ्कारी , दम्भी बन्दै जाँदा
भूमण्डलको तापमान, बढ्दै गएको छ
प्राकृतिक वातावरण, घट्दै गएको छ ।
वातावरण रक्षा हुन्छ , जहाँ हुन्छ जङ्गल
जङ्गलले नै गर्न सक्छ, संसारको मङ्गल
वन फँडानी गर्नेलाई, दिनैपर्छ दण्ड
वनविना वातावरण, हुन्छ खण्ड खण्ड।
जल वायु परिवर्तन, हामीद्वारा भयो
प्रकृतिको हराभरा, सुन्दरता गयो
हुँदै जाँदा हावा पानी माटो प्रदूषित
चराचर जगत् कहाँ, हुन्थ्यो प्रफुल्लित?
आज हामी स्वार्थी हुँदा, धर्ती नासिँदै छ
हामी मान्छे घाती बन्दा,शान्ति मासिँदै छ
युगौँसम्म सृष्टि साँच्ने, बन्नैपर्थ्यो हामी
भावी पुस्तानिम्ति बाँच्ने, हुनैपर्थ्यो नामी।
उद्योगका काम गर्दा, वातावरण हेरौँ
समृद्धिले भण्डार भर्दा, वातावरण हेरौँ
क्लोरो फ्लोरो कार्बनले,ओजोन नासिदिन्छ
वनस्पति वन्यजन्तु, सबै मासिदिन्छ ।
वातावरण रक्षा गर्ने, दायित्व हो हाम्रो
यही कुरा प्रकृतिको, स्थायित्व हो राम्रो
वनले नै वातावरण, गर्छ संरक्षण
त्यसै हुँदा गर्नैपर्छ , वनको आरक्षण ।
कार्बन को उत्सर्जन, घटाउनै पर्छ
थोत्रा साधन जर्जर वाहन, हटाउनै पर्छ
सौर्य ऊर्जा वायु ऊर्जा, जल ऊर्जा भरौँ
स्वच्छ राखी ताल झर्ना, नदी पूजा गरौं।
फोहोर सारा छुट्याएर, व्यवस्थित गर्न
सादा मल उत्पादनमा, प्रोत्साहित गर्न
बालक युवा वृद्धलाई, बताउनै पर्छ
सचेतनाबाट जगत्, तताउनै पर्छ ।
पुनर्निर्माण पुनर्प्रयोग, गर्नै पर्छ फोहोर
यो फोहोरले उत्पादन, गर्नै पर्छ मोहोर
वातावरण रक्षा गर्ने, बन्नै पर्छ कानुन
सम्झौता होस् विश्वभरि,यो सबैले जानून्।
भविष्यले चाँदीजस्तो, हिमाल देख्नै पर्छ
कवितामा लालीगुराँस डाँफे लेख्नै पर्छ
यो अधिकार भविष्यलाई,हामीले हो दिने
के निम्ति हो नत्र तिनले,हामी नै सम्झिने?
वातावरण शिक्षाबारे, पाठ्यसामग्री होस्
विद्यार्थीले यसबारे, सबै ज्ञान पिओस्
वातावरण जोगाउन, हामी लागिपरौँ
यो चेतना बिउसरि, विश्वभरि छरौँ ।





