
शालिकराम सत्याल
गाउँको सिरानमा रहेको बूढो बरको रूखमुनि बसेर हरि दाइ एकटकले बाटोतिर हेरिरहेका थिए। हातमा एउटा पुरानो रेडियो थियो जसले मलिन स्वरमा देशको समाचार फुकिरहेको थियो। बेरोजगारी दर बढ्यो यति संख्यामा युवाहरू विदेशिए।
के सुन्नु यो एउटै कुरा ! उनले लामो सुस्केरा हाल्दै रेडियो बन्द गरे।
केही वर्ष अघिसम्म यो चौतारीमा कति रमाइलो हुन्थ्यो। दशैँ-तिहारमा तन्नेरीहरूको लर्को हुन्थ्यो पिङको मच्चाइ र हातेमालो हुन्थ्यो। तर अहिले? गाउँका घरहरूमा कि त वृद्धवृद्धा छन् कि त ताल्चा झुण्डिएका ढोकाहरू। खेतबारी बाँझो छ मानौँ धर्तीले पनि आफ्ना सन्तानलाई पर्खिंदा पर्खिँदै थाकेर आँखा चिम्लेकी छिन्।
त्यत्तिकैमा हरिको मोबाइल बज्यो। मलेसियाबाट छोराको भिडियो कल थियो। बुवा सन्चै हुनुहुन्छ ? आमा कता छिन्? स्क्रिनमा छोराको थकित अनुहार देखियो।
सन्चै छौँ बाबु तर गाउँ त साह्रै सुनसान भो। हिजो मात्रै माइलाको छोरो पनि हिँड्यो रे खाडीतिर। अब त मलामी पाउने पनि आश मरिसक्यो हरिको स्वर अलि भर्रियो।
छोराले उताबाट आश्वासन दियो बुवा के गर्नु ? देशमा केही गरौँ भने वातावरण छैन। न ऋण पाइन्छ न बजार। यता दुःख गरेर पठाएको पैसाले त हजुरहरूको औषधि खर्च चलेको छ।
कुरा सकियो फोन काटियो। हरि दाइले फेरि चौतारीको रित्तोपनलाई नियाले। उनलाई लाग्यो यो देश एउटा यस्तो चौतारी बनेको छ जहाँ विश्राम गर्नेहरू त धेरै छन् तर यसलाई गोडमेल गरेर हराभरा बनाउने मालीहरू सबै सात समुद्र पारि पुगेका छन्।
साँझ पर्नै लाग्दा उनी लौरो टेक्दै घरतिर लागे। मनमा एउटै प्रश्न खेलिरह्यो रेमिट्यान्सले घरका चुल्हो त बललान् तर यो देशको रित्तो मुटु कसले भर्ला ?





