
रोजिना घिमिरे
अँध्यारो, कति बाक्लो हुन्छ यो अँध्यारो ? के यसलाई मुठ्ठीमा समातेर बाहिर फाल्न सकिँदैन ? आमा भन्नुहुन्छ— “बाबु, आँखा चिम्लेर बस, केही बेरमा सबै ठिक हुन्छ।” तर आमा, मैले त आँखा खोले पनि अँध्यारो नै देख्छु, चिम्ले पनि त्यही अनन्त र भयानक शून्यता। हिजोसम्म म यो घरको भित्ता-भित्ता चिन्थेँ। आँगनको कुन कुनामा कमिलाको ताँती लाग्छ, कुन ढुङ्गामुनि फट्याङ्ग्रा लुक्छ, मलाई सब कण्ठ थियो। तर आज? आज यो पिँढी मेरो लागि एउटा अभिशप्त टापु बनेको छ। त्यतिबेला पिँढीबाट आँगन टेक्नु नै मेरा लागि जेलको बन्दीले खुला संसार हेर्न खोजे जस्तै कठिन भएको छ।
म बिस्तारै आफ्नो सानो हत्केलाले पिँढीको खस्रो काठ छाम्छु। यो काठको हरेक चिरा, हरेक सानो प्वाल अब मेरो भूगोल भएको छ। मलाई डर लाग्छ— एउटा पाँच वर्षको बालकलाई किन यति धेरै डर लाग्छ? म त अस्तिसम्म निडर थिएँ नि! बुबाको काँधमा चढेर ‘म त आकाश छुन्छु’ भन्थेँ। अहिले त मलाई आफ्नै खुट्टाको भर छैन। मलाई लाग्छ, यो पिँढी सकिनेबित्तिकै एउटा विशाल र भयानक खाडल छ, जसले मलाई निलिदिनेछ। बाहिर चराहरू कराउँछन्। कति सुमधुर आवाज! तर त्यो आवाजले मलाई गिज्याइरहे जस्तो लाग्छ। उनीहरू भन्छन्, “हेर, हामी उड्न सक्छौँ, हामी देख्न सक्छौँ, तर तिमी त एउटा काठको टुक्रा जस्तै यो पिँढीमा खुम्चिएर बसेका छौ।”
पर विद्यालयको घण्टी बजेको सुनिन्छ— ‘टिङ, टिङ, टिङ’। त्यो आवाज सुन्नेबित्तिकै मेरो मुटुमा कसैले तातो सियोले रोपे जस्तो हुन्छ। यो उमेर त मेरो पनि विद्यालय जाने थियो नि, होइन र ? आमाले भन्नुहुन्थ्यो— “बाबु पाँच वर्षको भएपछि ठुलो झोला किनेर स्कुल पठाउँछु।” आज म पाँच वर्षकै भएँ, तर मेरो हातमा झोला होइन, एउटा सानो लौरो छ, जसले म अँध्यारो छामिरहेको छु। अरु बच्चाहरू लस्करै स्कुल जाँदा उनीहरूका जुत्ताले माटोमा हिर्काएको आवाज मेरो कानमा खैरो रङ्गको पीडा बनेर ठोकिन्छ। उनीहरू ‘क’ भन्दै होलान्, उनीहरू पाटीमा खरीले सुन्दर अक्षर कोर्दै होलान्। अनि म? म यही पिँढीमा बसेर उनीहरूको प्रगतिको पाइला गनिरहेको छु। उनीहरू संसार जित्न अगाडि बढ्दै छन्, म भने एक पाइला अगाडि सर्न पनि कसैको हात पर्खिरहेको छु।
आमाले खाना ल्याइदिनुहुन्छ। थालको आवाज सुन्नेबित्तिकै मेरो मुटु ढक्क फुल्छ। मलाई थाहा छ, अब मेरो हातले भातको सिता होइन, आफ्नै असहायपन छाम्नुपर्नेछ। कति पटक त गाँस मुखमा पुग्नुको सट्टा गालामा पुग्छ। आमा सुक्कसुक्क गर्नुहुन्छ, उहाँका आँसु मेरो हातमा खस्छन्। आमाको आँसु कति तातो हुन्छ है? तर म त्यो तातोपन देख्न सक्दिनँ। म त केवल एउटा यस्तो यात्री हुँ, जसको बाटो हराएको छ र गन्तव्य अँध्यारोले निलिसकेको छ। मेरा साथीहरूले भोलि ठुलो मान्छे बनेर संसार बदल्ने कुरा गर्छन्, तर मलाई त आज यो पिँढीबाट आँगनको ढुङ्गासम्म पुग्नु नै सगरमाथा चढे जत्तिकै भारी भएको छ। उनीहरू ‘क’ बाट ‘कलम’ भन्छन्, मेरो भागमा त ‘क’ बाट केवल ‘कष्ट’ मात्र आइलाग्यो।
म सम्झिन्छु, केही हप्ता अगाडि मात्रै म यो आँगनमा पुतली लखेट्थेँ। त्यो बेला रङ्गहरू कति जीवन्त थिए! रातो भनेको आमाको साडी थियो, नीलो भनेको त्यो विशाल आकाश थियो, र हरियो भनेको हाम्रो बारीको मकैको पात थियो। अहिले मलाई कसैले सोध्यो भने “रातो कस्तो हुन्छ?” म भन्न सक्दिनँ। मेरो दिमागबाट रङ्गहरूको स्मृति मेटिँदै छ। मलाई डर लाग्छ, कतै मलाई अब रङ्गको नाम पनि बिर्सिन्छ कि! मेरो लागि संसार अब केवल ‘तातो’ र ‘चिसो’, ‘खस्रो’ र ‘चिप्लो’ मा सीमित भएको छ। अरु बच्चाहरूका लागि संसार फराकिलो हुँदै जाँदैछ, मेरा लागि भने यो मेरो कोठाको भित्तादेखि यो पिँढीको डिलसम्म मात्रै मेरो ब्रह्माण्ड खुम्चिएको छ।
यो पिँढीको काठ कति खस्रो छ, मलाई अब कण्ठ भइसकेको छ। यहाँका प्रत्येक चिराहरूलाई मैले आफ्ना औँलाले हजारौँ पटक पढिसकेँ। यो मेरो जेलको सानो झ्याल जस्तै भएको छ। मलाई कहिलेकाहीँ लाग्छ, म यो पिँढीबाट हाम फालूँ र त्यो अज्ञात आँगनमा बिलाऊँ। तर डर लाग्छ— कतै म हराएँ भने आमाले मलाई कसरी भेट्नुहोला? म त एउटा यस्तो चरा भएँ, जसको पखेटा त छ तर आकाश खोसिएको छ। साथीहरूले विद्यालयमा नयाँ कुरा सिकेको सुन्दा मेरो छातीमा कसैले एसिड खन्याए जस्तो पोल्छ। उनीहरू अगाडि बढिरहेका छन्, उनीहरूको भविष्य उज्यालो छ। र मेरो? मेरो भविष्य त यही अँध्यारोमा कतै हराइसकेको छ।
हे ईश्वर! यदि तिमी छौ भने, मलाई यो सजाय किन दिएको? मैले कसको के बिगारेको थिएँ र? मैले त केवल एउटा चराको बचेरालाई गुडबाट खसेको बेला उठाएर फेरि त्यहीँ राख्न खोजेको थिएँ। के त्यो मेरो अपराध थियो? मलाई अरु केही चाहिन्न, मलाई केवल मेरो दृष्टि फिर्ता देऊ। मलाई पनि अरु जस्तै विद्यालय जानु छ। मलाई पनि नयाँ किताबको बासना सुँघ्नु छ, त्यसका चित्रहरू हेर्नु छ। तर म त यहाँ बसेर केवल अरुको सफलताको कथा सुनिरहेको छु। मेरो जीवन त एउटा अगाडि नबढ्ने घडी जस्तै भएको छ। टिक टिक त गर्छ, तर समय बदलिँदैन।
बिहान हुन्छ, मलाई थाहा हुन्छ किनकि चराहरू कराउँछन्। साँझ हुन्छ, मलाई थाहा हुन्छ किनकि झ्याउँकिरी कराउँछन्। तर मेरा लागि समय रोकिएको छ। एउटा बन्दी, जसलाई थाहा छैन उसको सजाय कहिले सकिन्छ। अरु बच्चाहरूका लागि संसार ठुलो हुँदै गइरहेको छ, उनीहरू नयाँ नयाँ ठाउँ पुग्छन्। मेरा लागि त यो पिँढी नै मेरो ब्रह्माण्ड भएको छ। म यहीँ सुत्छु, यहीँ बस्छु, र यहीँबाट अरुको खुसीको पदचाप सुन्छु। यो कस्तो विडम्बना! जसको जीवन भर्खर सुरु हुनुपर्ने थियो, उसले अहिल्यै एउटा मरेको मान्छेको जस्तो मौनता ओढेर बस्नुपरेको छ।
यो पिँढीबाट आँगनमा झर्ने सिँढी कति ओटा छन्? तीन ओटा? कि चार ओटा? हिजोसम्म म एकै सासमा ओर्लिन्थेँ। आज म त्यहाँ पुग्न खोज्दा मेरो शरीर काँप्छ। म हात फैलाउँछु, हावा छाम्छु। मलाई लाग्छ, हावामा पनि कतै धारिला काँडाहरू छन् कि! म बिस्तारै एउटा खुट्टा तल सार्छु। माटोको चिसो स्पर्श हुन्छ। तर त्यो स्पर्शले मलाई आनन्द दिँदैन, बरु एउटा अनौठो भय पैदा गर्छ। “आमा ! आमा !” म चिच्याउँछु। मलाई लाग्छ म हराएँ। आफ्नै घरको आँगनमा म बेवारिसे भएको छु। एउटा पाँच वर्षको बालकका लागि योभन्दा ठुलो सजाय अरु के हुन सक्छ?
“म पिँढीको कुनामा थुचुक्क बसेर ती कानेखुसीहरू सुन्छु, जुन मलाई सुनाउन भनिएका होइनन्, तर ती सिधै मेरो मुटुमा आएर बिझ्छन्। गाउँका मान्छेहरू पर बसेर कुरा काट्छन्— ‘हेर त, यसभन्दा अगाडिका सन्तानहरू कति सग्ला र तगडा छन्। यदि बाबुको रगतमा खोट हुन्थ्यो भने त अरूमा पनि त केही देखिनुपर्ने नि! पक्कै पनि यो त यसकी आमाकै कोखको दोष हुनुपर्छ।’ उनीहरूका ती शब्दले मलाई होइन, मभित्रकी आमालाई बारम्बार प्रहार गरिरहेका हुन्छन्। मलाई लाग्छ, म यो घरको हाँगो त हुँ, तर एउटा यस्तो हाँगो जसमा लागेको रोगको दोष जरैलाई दिइएको छ।
उनीहरूलाई लाग्छ म सानो छु, केही बुझ्दिनँ। तर ती ‘कोखको गल्ती’ र ‘बाबुको शुद्ध रगत’ का कुराहरूले मेरो बालमस्तिष्कमा एउटा भयानक चित्र बनाइदिन्छन्। मलाई लाग्छ, म यो परिवारको लागि एउटा यस्तो प्रश्न चिह्न बनेको छु, जसको उत्तर खोज्न समाजले मेरी आमाको पवित्रता र भाग्यलाई कसिङ्गर जस्तै कोट्याइरहेको छ। अगाडिका सन्तानहरू उनीहरूका लागि ‘सफलता’ का प्रमाण भए, अनि म? म चाहिँ आमाको कोखमा लुकेको ‘खोट’ को जीवित प्रमाण? के एउटा आमाले सन्तान जन्माउँदा रङ्ग र प्रकाश छानेर हाल्न सक्छिन् र?
आमा जब मेरो नजिक आउनुहुन्छ, म उहाँको श्वासमा त्यो भारीपन महसुस गर्छु। मलाई थाहा छ, बाहिर भएका ती कानेखुसीले उहाँको भित्री मन कति क्षतविक्षत भएको छ। उनीहरूले मेरा आँखा नदेख्ने समस्यालाई लिएर आमाको ममतालाई नै कठघरामा उभ्याइदिएका छन्। ‘बाबुको वंश त सफा थियो, आमाकै तिरबाट केही नराम्रो मिसियो’ भन्दा मलाई लाग्छ, म यो धर्तीमा आएर आमाको लागि वरदान होइन, एउटा कहिल्यै निको नहुने घाउ बनेको छु। मेरो दृष्टि नहुनु मेरो नियति थियो होला, तर मेरो कारणले आमाको कोखलाई सरापिएको सुन्दा मलाई यो अन्धकारभन्दा बढी ती मान्छेहरूको विवेकहीनतासँग डर लाग्छ।
हे ईश्वर! के म जन्मिनु नै मेरी आमाको लागि सजाय हो? यदि मेरा अगाडिका दाजुदिदीहरू उज्यालोका प्रतीक हुन् भने, मलाई मात्र किन यो अन्धकारको भारी बोकाएर आमाको शिर झुकाउने माध्यम बनायौ? समाजको यो ‘बिचरावाद’ त झेल्न सकिएला, तर मेरो अस्तित्वलाई आमाको खोटसँग जोडेर गरिने यो कानेखुसी कसरी सहूँ? म सानो छु, तर मलाई यति थाहा छ— मेरी आमा निर्दोष हुनुहुन्छ। यो समाजको आँखा पो देख्ने छन्, तर मन त पूरै अन्धकारले भरिएको रहेछ।”
राति जब सबै सुत्छन्, म मात्र ब्युँझिरहेको हुन्छु। किनकि मेरो लागि त दिन र रातमा कुनै फरक छैन। म सुन्छु, आमा र दिदी सायद म निदाए जस्तो ठानेर हो, या, यो बालकले केही बुझ्दैन भन्ने ठानेर हो, अर्को खाटमा सुक्कसुक्क गर्दै हुनुहुन्छ। दिदी भन्दै हुनुहुन्थ्यो— ” आमा, भाइलाई सहर लैजानुपर्छ, यसको आँखा कसरी हुन्छ ठिक पार्नुपर्छ। अनि हामीसँगै स्कुल जान्छौँ, सँगै गोठालो जान्छौं, गाई बाख्रा चराउँछौं, है आमा? ” तर आमा भन्नुहुन्छ— “हामीसँग पैसा कहाँ छ र ? यसको भाग्यमै यस्तै लेखेको रहेछ।” भाग्य ? के भाग्यले मलाई यो अँध्यारोमा थुनेको हो ? मेरो भाग्य त कति निर्दयी रहेछ। अरु बच्चाहरूको भाग्यमा विद्यालयको चक र डस्टर छ, मेरो भाग्यमा केवल यो पिँढीको चिसो काठ। मलाई लाग्छ म एउटा बोझ हुँ। म आमाको आँसुको कारण हुँ। म म दिदीको त्यो भाइ, हुँ, त्यो साथी, हुँ जो सँगै खेल्न सक्दैन सँगै गोठालो जान सक्दैन। तपाईँहरूले नभनेपनि मलाई राम्रोसँग थाहा छ। म सबैको चिन्ताको विषय हुँ।
मलाई कसैले भनिदेओस्, कि यो एउटा नराम्रो सपना हो। म भोलि बिहान उठ्दा फेरि त्यही उज्यालो देख्नेछु। म फेरि त्यही रातो गुराँस टिप्न जानेछु। म फेरि आमाको आँखामा आफ्नो अनुहार देख्नेछु। तर जति पटक म आँखा मिच्छु, उति नै त्यो अँध्यारो झन् गाढा भएर आउँछ। मेरो साना हातहरूले अब केवल शून्यतालाई मात्र समात्न सक्छन्। यो पिँढीको छेउमा बसेर म केवल कल्पना गर्छु— आँगन कस्तो होला? सायद त्यहाँ धेरै रङ्गहरू होलान्। सायद त्यहाँ मेरा साथीहरूले ‘क’ बाट ‘कलम’ लेखिरहेका होलान्। तर मेरो कलम त भाँचिएको छ, मेरो कापी त डढिसकेको छ।
म सानो छु, तर मलाई लाग्छ म संसारकै सबैभन्दा थकित मान्छे हुँ। मेरो बालपन त यो अँध्यारोले नै निलिदियो। अब म कसरी हाँसूँ? कसरी खेलूँ? मेरो हाँसो त अब केवल एउटा खोक्रो आवाज मात्र हो। मलाई लाग्छ म एउटा यस्तो इनारमा खसेको छु, जहाँबाट बाहिरको संसार एउटा सानो थोप्लो जस्तो मात्र देखिन्थ्यो होला, तर अब त त्यो थोप्लो पनि हरायो। म केवल सुन्छु, महसुस गर्छु, र भित्रभित्रै मर्दै जान्छु— हरेक पटक जब म सुन्छु कि बाहिर संसार कति सुन्दर छ।
जब वर्षा हुन्छ, पानीको थोपा पिँढीमा खस्छ। म ती थोपाहरूलाई समात्न खोज्छु। तिनीहरू मेरो हातबाट चिप्लेर जान्छन्। मलाई लाग्छ, मेरो खुसी पनि यसरी नै चिप्लेर गयो। म माटोको बासना सुँघ्छु, तर त्यो माटोमा खेल्ने हिम्मत अब ममा छैन। मलाई लाग्छ, माटोले पनि मलाई चिन्न छाड्यो। म त अब केवल यो घरको एउटा कुनामा थन्किएको पुरानो सामान जस्तो भएँ। जसलाई कसैले वास्ता गर्दैन, केवल सफा गर्दा यताउता सार्छन्।
आमाले मलाई नुहाइदिँदा भन्नुहुन्छ— “मेरो छोरो कति राम्रो देखिएको छ।” तर आमा, मलाई त्यो ‘राम्रो’ को अर्थ अब थाहा छैन। ‘राम्रो’ त त्यो हुन्थ्यो, जब म आफैँ ऐना हेर्न सक्थेँ। ‘राम्रो’ त त्यो हुन्थ्यो, जब म आफैँ लुगा लगाउन सक्थेँ। अहिले त म एउटा गुडिया जस्तै भएको छु, जसलाई तपाईंले जसो गर्नुहुन्छ, त्यस्तै हुन्छ। मेरो आफ्नै इच्छा कहाँ छ? मेरो आफ्नै पहिचान कहाँ छ? म त केवल एउटा अँध्यारोको दास हुँ।
हे ईश्वर! मलाई दृष्टि नदिए पनि कमसेकम यो पिँढीबाट आँगनसम्म पुग्ने साहस त देउ। मलाई यो बन्दी जीवनबाट मुक्ति देउ। मलाई अरुको प्रगति हेरेर डाह गर्न मन छैन, तर म के गरूँ? मेरो बालमस्तिष्कले यो पीडा सहन सकिरहेको छैन। मलाई केवल एक पटक— मात्र एक पटक— आमाको मुस्कुराएको अनुहार हेर्नु छ। त्यसपछि बरु मलाई सधैँका लागि यही अँध्यारोमा छोडिदिए पनि हुन्छ। तर यो अन्धकार, यो एक्लोपन र यो हिँड्न नसक्ने असमर्थता— यो त मृत्युभन्दा पनि भयानक रहेछ। म केवल पाँच वर्षको त छु, तर मलाई लाग्दै छ मैले सयौँ वर्षको दु:ख अहिल्यै भोगिसकेँ। आँगनको त्यो सानो डिल मेरा लागि अब कहिल्यै पार गर्न नसकिने पहाड बनेको छ। मेरो संसार साँच्चै नै एउटा सानो पिँढीमा कैद भएको छ।
भविष्य, यो शब्द सुन्दा मलाई कस्तो कस्तो लाग्छ। मान्छेहरू भन्छन्— “बिचरा, यसको त अब भविष्य नै सकियो।” के साच्चै मेरो भविष्य सकिएको हो र? के म अब कहिल्यै केही बन्न सक्दिनँ? के म सधैँ अरुको दयाको पात्र मात्र बनेर बस्नुपर्ने हो? अरु बच्चाहरू डाक्टर, पाइलट वा शिक्षक बन्ने सपना बुन्छन्। म भने यो पिँढीबाट कसरी लढ्दिनँ भन्ने चिन्तामै हराउँछु। उनीहरूको सपनामा रङ्ग छ, मेरो सपनामा केवल एउटा अन्त्यहीन शून्यता। मलाई लाग्छ, म एउटा यस्तो चरा हुँ, जसको आकाश कसैले मुठ्ठीमा थुनेर राखेको छ। म पखेटा त फट्फटाउँछु, तर उड्न सक्दिनँ। मेरो आँखा त छैनन्, तर मेरो आत्माले गरिरहेको यो रोदन कसैले सुन्दैन र? म केवल एउटा पाँच वर्षको बालक हुँ, मलाई बचाउ यो अँध्यारोबाट! मलाई बचाउ यो एक्लोपनबाट! मलाई केवल एक पाइला अगाडि सर्न देऊ, मात्र एक पाइला!
“सबैले मलाई ‘बिचरा’ भन्छन्। यो शब्द सुन्नेबित्तिकै मलाई लाग्छ, मेरो शरीरमा हजारौँ कमिलाहरूले एकैसाथ टोकिरहेका छन्। उनीहरूको स्वरमा एउटा यस्तो नमिठो स्वाद छ, जसले मलाई पलपल म नराम्रोसँग भाँचिएको छु भन्ने सम्झना गराइरहन्छ। आमा, म ‘बिचरा’ हुन चाहन्नँ। म त केवल एउटा यस्तो बालक हुन चाहन्छु, जसको हात समातेर कसैले ‘हिँड बाबु, सँगै खेलौँ’ भनोस्, न कि मेरो टाउको सुम्सुम्याउँदै मेरो भाग्यलाई सरापोस्। उनीहरूको त्यो सहानुभूति मेरो घाउमा मलम होइन, नुन बनिदिन्छ।
यो पिँढीमा बसेर म केवल अँध्यारोसँग लडिरहेको छैन, म त मान्छेहरूका ती दयालु तर विषालु शब्दहरूसँग पनि लडिरहेको छु। कसैले भन्छन्— ‘लाटो होला कि भनेको त आँखा पो रहेनछन्, कठैबरी!’ के मेरो अस्तित्व केवल उनीहरूको दयामा अडिएको छ? मलाई लाग्छ, उनीहरूले मलाई हेर्ने दृष्टिकोण मेरो दृष्टिविहीनताभन्दा पनि बढी अन्धकारपूर्ण छ। उनीहरू मेरो क्षमता होइन, मेरो अभावलाई मात्र देख्छन्। मभित्र अङ्कुरित हुँदै गरेको सपनालाई उनीहरूको ‘बिचरा’ भन्ने शब्दले फुल्नुअघि नै निमोठिदिन्छ।
मलाई कसैको दयाको रोटी होइन, आफ्नै पौरखको बाटो चाहिएको छ। उनीहरू मेरो अगाडि उभिएर मेरो भविष्य सकिएको घोषणा गर्छन्, तर के कसैले सोधेको छ— मलाई के बन्न मन छ? म यो पिँढीको कैदी होइन, म त यो पिँढीलाई नै आफ्नो प्रस्थानविन्दु बनाउन चाहन्छु। मलाई अरूको सहारामा बाँच्ने परजीवी होइन, आफ्नै लौरोको सहारामा संसार नाप्ने यात्री बन्नु छ। यो बिचरावादको पर्खाललाई भत्काएर मलाई त्यो खुला आँगनमा टेक्नु छ, जहाँ कसैले मलाई दयाको नजरले होइन, बराबरीको नजरले हेरोस्।
त्यसैले आमा, अब कसैले मलाई ‘बिचरा’ भन्दा तपाईं पनि उनीहरूसँगै नरोइदिनुस्। बरु मेरो हातमा त्यो सानो लौरो बलियो गरी थमाइदिनुस् र भन्नुस्— ‘बाबु, यो अँध्यारो तिम्रो अन्त्य होइन, एउटा नयाँ यात्राको सुरुवात हो।’ मलाई यो दयाको दलदलबाट बाहिर निस्किनु छ। मलाई संसारलाई देखाउनु छ कि आँखा नहुँदैमा कसैको संसार सकिँदैन, मात्र संसार हेर्ने तरिका बदलिन्छ।”





