
रामशरण न्यौपाने “पाँचघरे”
आषाढ लाग्यो रोपाइँगर्न बेँसीमा झर्नु छ
बनेन पुल तुहिन बाटै मर्स्याङ्दी तर्नु छ।
नेपाललाई सक्षम पार्न अन्नले भर्नु छ
रोपेर मानु मुरीका मुरी उब्जनी गर्नु छ॥
उन्नत मल उन्नत बिउ प्रविधि उन्नत
पारेर गरौँ खेतीको काम नगरी हुन्न त।
आषाढपन्ध्र माटोमा रमी पसिना छर्नुछ
रोपेर मानु मुरीका मुरी उब्जनी गर्नु छ॥
फोरेर बाँझो खेत र बारी झपक्क पार्नु छ
साँढेले बाली सखाप पार्छन् सिमाना बार्नु छ।
आमाको भित्री मनको दर्द मायाले हर्नु छ
रोपेर मानु मुरीका मुरी उब्जनी गर्नु छ॥
यो वीर जाति थाक्दैन रत्ती कर्ममा बढेर
उचाई तिर चुलिन्छ अग्लो शिखर चढेर।
आलो र पालो गरेर टारी गैह्रीमा सर्नु छ
रोपेर मानु मुरीका मुरी उब्जनी गर्नु छ॥
सबैले मिली देशको अब मुहार फेर्नु छ
स्वर्गकोपाटो शिवको माटो सुनले बेर्नुछ।
विश्वकोसामु पौरख छरी नाम यो दर्नु छ
रोपेर मानु मुरीका मुरी उब्जनी गर्नु छ॥
माटोमा फल्छ जुहार जडी श्रमले भेटिन्छ
कर्ममा लाग मानव जाति अभाव मेटिन्छ।
देशको माटो चन्दन ठानी शिरमा धर्नु छ
रोपेर मानु मुरीका मुरी उब्जनी गर्नु छ॥





