बाढी


रम्भा पौडेल

स्कुलमा प्रार्थानाको समय भएको थियो । सबै विद्यार्थीलाईनमा उपस्थित थिए।
पिटी सरले गोडा फाट ,सर्तक गराउनु भयो।
मन्चबाट हेडसरले भन्नुभयो —“प्यारा भाइबैनीहरु ! भर्खरै हाम्रो प्रथम त्रैमासिक परीक्षा सकिएको छ । सरकारले हप्तामा दुईदिन बिदा दिएको त छ तर यो अनुसार हाम्रो पाठयभार नमिलेकोले हामीलाई कोर्स सक्न गारो हुन्छ। त्यसैले परीक्षा सकिए पनि हामी तिमीहरुका लागि बिदा हुनेछैन् । शिक्षकहरुले पनि कपि घरमै जाँचेर समयमै बुझाउनुहोला ।“
सबैले हेडरको कुरा सुनिरहका थिए । त्यतिनै बेला ठुलो आवाजमा खोला सुसाएको आवाज आयो । सबैले त्यो आवाजतिर ध्यान दिए।
तेतिनै बेला हेडसरले भन्नु भयो —“सर मेडम तथा भाईबैनीहरु ! अनिष्टको संकेत आयो । हिमालफुटेर हिउँ पग्ल्यो रे । रसुवाबाट यो बाढी बनेर आउँदैछ । जापानमा खसालिएको एटमबमले भन्दा यसले बढी बिनास गर्देछ । यो बाढी यहाँ एकैछिनमा आउँछ भन्ने खवर आयो ।”
सरहरुको बिचबाट कसैले भन्नुभयो—”पानी नै परेको छैन । के बाढी आउला र सर ?”
हेडसरले फेरि भन्नुभो —“ सबै जना यहाँबाट तत्काल बाटो लाग्नुहोस् । जतिसक्दो माथि डाँडा तर्फ लाग्नुहोस् । मैले भनेको मान्नुहोस् । आफनो ज्यान आफैँ बचाउनुहोस् । भाइबैनीहरु तिमीहरु झोला खोज्न नथाल । तत्काल यहाँबाट निस्किहाल।“
सबैले हेडसरको आज्ञा पालन गरी पाँच मिनेटमैहस्याङ फस्याङ गर्दै डाँडामा उक्लिहाले ।
उनीहरु पाँच मिनेटमै माथि पुगे । स्कुलतर्फ फर्केर हेर्दा ठुलो बाडी स्कुलमा पसिसकेको थियो । हेर्दाहेर्दै बाढीले स्कुल र त्यो त्रिसुली बजार बगायो । सबैको मन डरले ढुकढुक गर्यो । मानिसहरुलाई ऐया भन्न नपाई खोलाले पुरिहाल्यो। घरहरु सबै गर्लम्म ढले । पुलहरु पनि बाढीले बगायो । सबै विद्यार्थीहरु बाबा हो ! आमा हो !
तपाईँ कहाँ हुनुहुन्छ ? हामी त बाच्यौँ, भन्दै रुन थाले । उता हेडसरलाई नदेखेपछि फेरी सबैले हाम्रो हेडसर खोई भनेर चिच्याए । हेडसर झाडीबाट लुसुक्क निस्कनुभयो र भन्नुभयो—“म यही छु । बाँचेको छु । तिमीहरु हतास नहोउ । अब तिमीहरुको अभिभावक मै हूँ ।“
सबै विद्यार्थीहरुले हेडसरलाई घेराहालेर रुन थाले । हेडसरले सबै विद्यार्थीका आँशु पुछदै भन्नुभयो,
“नरोउ । जीवनमा जे पनि आई पर्छ । हामीले सहन सक्नुपर्छ । तिमीहरु सबैलाई पढाउने जिम्मा मेरो भयो। होस्टेलमै बस्ने ब्यवस्था मै मिलाउँछु । अबदेखि तिमीहरु सबैको बाबा र आमा मै हूँ ।