
मचिन्द्र खत्री
म लागेँ माइत आज हो औँसी पिताजी भेट्नु छ
तिर्सना मीठो त्यो बाल्यकालको यसैमा मेट्नु छ।
तीजको गीत माइतीको आँगन नाचेर गाउँला
मानेर तीज पञ्चमी सकि फर्केर आउँला।
आमाको मायाँ शीतल छायाँ छहारी छ फेरो
पवित्र तीर्थ त्यो काख प्यारो सम्पूर्ण हो मेरो।
दिदी र बैनी लागेर लर्को माइती जानूछ
सन्देश मीठो माइतीमा सबै यताको लानू छ।
आमा र बाबा हेरेर बाटो छट्पटी गर्दाहुन्
तीजको दर जोरजाम गरि घरमा भर्दाहुन्।
तीजको व्रत गरेर कर्म पञ्चमी नुहाई
फिरौँला घर हे ! मेरा प्यारा गर लौ विदाई।
बर्सीका पोथ्रा नागेर जाने कहानी तीजको
दिनरातै हिँडी पुग्नुछ छिटो बिहानी तीजको।
घरको चाबी हजुरको जिम्मा बुझेर यो लिनोस्
सकारै हिँड्छु टाढा छ माइत विदाई त्यो दिनोस्।
आउँलान् चेली हजुरका पनि हर्षले रमाई
मालीको दूध ख्वाउँनु दही ठेकीमा जमाई।
माता र पिता वृद्धछन् यता कष्टमा नपार्नु
पाडा र बाछा गाई र भैँसी भोकले नमार्नु।
दिदी र बैनी ती बुढी फुपु रोएर नजाउन्
अर्कासाल देखि आउदिन भन्ने कसम नखाउन्।
बुझेर कुरा चेलीलाई राम्रो सत्कार गरौला
दुखेको मन सम्झाई तिमी उल्लास भरौला।
जे सक्छौ दिन नलागि ऋण दिएर पठाऊ
विकृति ढर्रा यो तीज होइन यसलाई हटाऊ।
रीति र रिवाज मौलिकता हाम्रो जोगाई राख्नु छ
संस्कार केहो?बुझेर तीज परिकार चाख्नु छ।





