“थकित शिक्षक, अन्धो समाज”


सबैको मुखमा एउटै वाक्य—
“शिक्षक हो नि, यसरी पढाउनु पर्छ!”
मानौँ शिक्षक रोबोट हुन्, विद्यार्थी ढुंगो,
अभिभावकको जिम्मेवारी शून्य।

बच्चा कक्षामा हल्ला गर्छ, टेर्दैन,
मोबाइलमै हराउँछ—
तर वर्षको अन्त्यमा प्रश्न भने उही—
“मेरो बच्चा अगाडि किन आएन?”

कसैले सोध्दैन—
“नियम मानेन कि?
घरमा मैले केही सिकाएँ कि?
शिक्षकलाई सम्मान गरेँ कि?”

सबैलाई Short-cut चाहिन्छ—
पढाइमा, नतिजामा, दोषारोपणमा पनि—
“शिक्षकले राम्रो गरेन।”

सत्य के हो भने—
विद्यार्थीले सम्मान दिन छोड्दैछन्।
शिक्षकलाई उनीहरू
Marks निकाल्ने मेसिन ठान्छन्।

कक्षामा ‘Hello’ नबोल्ने,
गल्तीमा ‘Sorry’ नआउने—
त्यसको दोष पनि शिक्षककै ढाडमा।

अभिभावकले बच्चाको गल्ती हेर्नुअघि
शिक्षकमाथि नै रिस खन्याउँछन्—
“गलत बोल्नुभयो रे!”
तर सोध्दैनन्—
“मेरो बच्चा कति गलत बोल्थ्यो?”

शिक्षक classroom मा
हरेक अनुहार बुझ्न खोजिरहेका हुन्छन्—
को थाकेको, को विचलित,
को घरको दुःख बोक्दै आएको।
तर शिक्षकलाई बुझ्ने समाज भने कहाँ छ?

आवाज तिखो भयो— “कडा।”
नरम भयो— “कमजोर।”
Loose भयो— “Control गर्नै नआउने।”
जे गरे पनि दोष उही— शिक्षक।

राति १२ बजे Lesson Plan बनाउने
थकित आँखाहरू समाजले देख्दैन।
गाली सहेर पनि भोलिपल्ट
उही मुस्कान लिएर कक्षामा उभिने
त्यो साहस देख्दैन।

शिक्षक देवता होइन—
उनीहरू पनि थक्छन्,
दुख्छन्,
र भित्रै भित्र भन्छन्—
“म पनि मान्छे मात्र हुँ।”