“शरद् सौगात”


इन्दिरा प्रयास

जहाँ जहाँ बसौँ हामी धरा एक हाम्रो
स्वदेश या बसून् अन्तै फुलून् काव्य राम्रो
छुट्याउँछौ त्यसै व्यर्थै निचो हुन्न कक्ष
यही झुलून् खुसी सारा बनून् देश भक्त !!

बुकी जुही फुल्यो रोजै सुगन्धै छरेर
पहाडमा फुल्यो लाली रमाएर धेर
नदी बग्यो सुसाएछन् सबै मूल बन्दै
हराभरा भए टारी शरद् मित्र भन्दै !!

मुहारमा खुल्यो हाँसो सबै दङ्गदास
युवापिँढी बनून् मन्त्री यही एक आस
हिमालले उषा पोख्दा मनै लुट्न लाग्यो
प्रवाहका नदीनाला रमाएर जाग्यो !!

खुसी फुल्यो परेलीमा बचेरो छ मस्त
बुवा मुमा सँगै हाँसी हँसाऊँ प्रशस्त
हराभरा झुल्यो बाली भए दङ्ग सारा
धरा सुचारिँदा हामी भयौँ जून तारा ।।

किनारमा बिलौना छन् कटानी छ धूर्त ।
यता सबै बन्यौँ दोषी बन्यौँ स्वाँठ मूर्ख
भुराभुरी रमाएका दसैं चाड मान्दै
बुढाबुढी दुखेका छन् हटाेस् कष्ट भन्दै !!