
रमेशचन्द्र घिमिरे
भोर्लेटार, लमजुङ
पोहोर सालका घुर्रा पिर्का अहिले कता छन्
पिङ खेलौँला भनेको त खेल्न पाइनँ झन्
केके चाहिन्छ पिङ हाल्न ल्याउनू सोधेर
खाल्टो खन्न आउनू ठूल्दाइ खन्ती खोजेर
पिर्का अट्ने नाप लिई ठाउँ छाडेर
एक-एकवटा दुईतिर खाँबो गाडेर
खाल्टो पुर्न बाबाले माटो खाँद्नु भो
पिङ हालेको खुसीमा मिठाई बाँड्नु भो
डाँडी राख्न खाँबामा चोके पारेर
डाँडीभित्र घुसारी घुर्रा झारेर
त्यै घुर्रामा भाइले पिर्का अड्यायो
पोहोर सालको ठेडी खै कता हरायो ?
चिलाैनेको दाउरा ताछी ठेडी हालौँला
खुट्टा फाल्दै मच्चिँदै खेल्न थालौँला
बैनी तिमी खेल है पहिल्यै आएर
पालो गरी खेल्छौँ हामी लाइन लाएर
दसैँ बोलाई आँगनीमा पिङ हालियो
साथीभाइ बटुलेर खेल्न थालियो।





