
योगी नारायण नाथ
सुन्दर कञ्चन कोलोनी इटहरी १, सुनसरी
के केवल काँस फुल्नु नै दशैँ हो ?
वा मनभित्रको अहङ्कार ढल्नु दशैँ हो?
बाहिर उज्यालोका दीप बाल्दै गर्दा,
आफ्नै भित्री अँध्यारो चिन्नु दशैँ हो?
महिषासुर कुनै कथाको पात्र मात्र थिएन,
त्यो त हाम्रै चेतनामा लुकेको कामासुर,
क्रोधासुर र अहङ्कार थियो।
जब-जब विवेकमाथि अज्ञानको भुइँचालो जान्छ,
तब-तब जन्मन्छ मनभित्र एउटा नयाँ असुर।
दुर्गा कुनै टाढाको देवी होइनन्,
ती त हाम्रै सुसुप्त आत्मबलको प्रचण्ड शक्ति हुन्।
जब चेतनाले विवेकको खड्ग उठाउँछ,
तब मात्र असत्यका काला पर्दाहरू च्यातिन्छन्।
जमराको त्यो कलिलो पहेँलो रङ्गले सोध्छ—
“के तिमीले माटो जस्तै नम्र हुन सिक्यौ?”
रातो अक्षताको रातोपनले भन्छ—
“के तिमीले चेतनाको नयाँ सूर्य उदाउन दियौ?”
पिङका मच्चाइहरू जीवनको अनित्य चक्र हुन्,
उक्लिनु र ओर्लिनु त समयको नियम हो।
बलि केवल पशुको होइन, आफ्नो पशुत्व,
ईर्ष्या र द्वेषको हुनुपर्छ।
अनि मात्र यो माटोमा साँचो विजय छाउँछ,
अनि मात्र मानिसभित्रको ईश्वरत्व मुस्कुराउँछ।
दशैँ आगमन होइन, आत्मसाक्षात्कार हो,
शून्यबाट उठेको एउटा महाचेतनाको हुङ्कार हो।





