“हेमन्तका सूर्य”


उषा बस्ताकोटी खनाल

ग्रीष्मको उम्लिँदो ताप उसकै हातमा दिई
ऋषितुल्य शरद्‌बाट चन्द्रको चन्द्रिका लिई
हेमन्ती वनमा बस्ने प्रिया भेटूँ छिटो भनी
छोटो बाटो समायौ कि सूर्य हे ! विरही बनी।

दुखेको ढुक्ढुकी छाम्न चखेवा व्यग्र झैँ बनी
तेजको दम्भ त्यागेर बोकी आत्मीय रोशनी
उघार्दै हुस्सुका पर्दा कुदाई सुनको रथ
म आएँ सुन्दरी भन्न घर छिट्टै पुग्यौ कि त।

बिसाई रापको धोक्रो बोकी पीयूषको घडा
छोटो बाटो हुँदै छिट्टै प्रियासामु बनी खडा
ग्रीष्ममा अग्नि झैँ बन्दा पोलेको गहिरो खत
पारूँ शीतल मै सोँची वैद्य आफैँ बन्यौ कि त।

शीत हो कपटी कस्तो चेहरा सुम्सुम्याउँछ
दुखेको मुटुमा धस्न तीर तीखो बनाउँछ
खेप्दैछौँ यसकै शूल हेमन्ती नभका मुनि
छर्न स्नेह यता छिट्टै फर्क हे नभका मुनि !

घटाई दिनको आयु बढायौ रातको किन ?
मनकी स्वमिनीसाथ अल्लि बेर रमाउन ?
घुमाऊ मनकी रानी कुदाई मनकै रथ
भोलि फेरि यता फिर्ने नभुले नभको पथ।