“पाप लाग्छ”


आत्माराम न्यौपाने

बाच्छाहरूले अनि माहुरीले
बोल्दा सुन्यो एक कुनै सुरीले
खोसेर खाएपछि श्राप लाग्छ
चोरेर पाएपछि पाप लाग्छ।

काट्दा कुनै पीपल दाउरेले
बोली सुन्यो हत्पत लाहुरेले
काटेर ढालेपछि श्राप लाग्छ
बेकार बालेपछि पाप लाग्छ।

पानी लिँदा ताल नदी कुवाको
बोली सुन्यो डल्फिन भ्यागुताको
पानी भए दूषित श्राप लाग्छ
फोहोर फालेपछि पाप लाग्छ।

ढुङ्गा र माटो पनि साथसाथ
बोल्दा सुन्यो एक विशेष बात
धर्ती रिसाएपछि श्राप लाग्छ
माटो बिगारेपछि पाप लाग्छ।