अभियान

राजन कार्की पाजु
धरान,सुनसरी

बिहान सवेरै एक हुल मानिसहरु हातमा ठुला ठुला अक्षेरमा लेखिएका तुल‌ बोकेर चौक तिर निस्किए। कोहि युनिफर्म लगाएका शिक्षक शिक्षिका,केही विद्यार्थी थिए। केहि विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरु तथा केहि जनप्रतिनिधि समेत सम्मिलित थिए।
सामुदायिक विद्यालयमा विद्यार्थी भर्ना अभियानको घरदैलो कार्यक्रम थियो त्यो, आफ्ना बालबालिकालाई सामुदायिक विद्यालयमा नै भर्ना गराऔँ जस्ता स्लोगन लेखिएका तुल तथा प्ले कार्ड हातमा सबै जसोले‌ बोकेका थिए।
टोलमा सामुदायिक विद्यालयमा आफ्ना बालबालिकालाई भर्ना सम्वन्धी सानो चेतनामुलक कार्यक्रम राखिएको थियो। टोल भरिका अभिभावक भेला भएका थिए। सर,मिस तथा व्यावस्थापन समितिका पदाधिकारीहरु आफ्ना बालबच्चालाई सामुदायिक स्कुलमा भर्ना गर्न प्रेरित गरिरहेका थिए। अभिभावक चुपचाप सुनिरहेका थिए, विना टिप्पणी।
“ओहो ९ बज्न लागि सकेछ !” घडी हेर्दै एक जना मिसले अर्की मिसको कानमा फुस्फुसाईन,”तपाईँहरु बस्दै गर्नु ल! म बवुलाई बोर्डिङ पुर्याएर आइहाल्छु।” अर्की मिसले स्वीकृति सुचक मुन्टो हल्लाईन् !!