
गङ्गा कर्माचार्य पौडेल
‘बुवा! हाम्रो घरको ढोकामा किन सर्पका फोटा टाँस्नुभएको?’ नाग पञ्चमीका दिन बुवाले नाग टाँस्दै गर्दा मैले सोधेकी थिएँ।
बुवाले जवाफमा भन्नुभएको थियो, “हाम्रो हिन्दु धर्ममा सर्पलाई नागदेवताको प्रतिक मानेर पूजा गरिन्छ। नागको चित्र यसरी ढोकामा टाँस्यो भने सर्पको भय हुँदैन। अनिकाल लाग्दैन, परिवारमा सुखशान्ति छाउँछ। भन्ने जन विश्वास छ। त्यस कारण नाग पञ्चमीलाई हामी चाड पर्वकै रुपमा मनाउँछौँ। यो परम्परादेखि चलिआएको चलन हो। हामीले हाम्रो धर्म संस्कृतिको जगेर्ना गर्दै लानुपर्छ बुझ्यौ ?”
त्यतिबेला म सानी थिएँ। भरखर चेतना खुल्दै गरेकी। जसले जे काम गरेको देखे पनि मेरो मनमा कौतुहलता जागेर आउँथ्यो। त्यसपछि उत्सुकतापूर्वक सोध्ने गर्थे के किन? कसरी? भनेर। बुवाले भन्नुभएको कति कुरा बुझेँ कति कुरा बुझिनँ। तैपनि बुझेँ भनेर टाउको चाहिँ हल्लाएँ।
‘अनि किन आठओटा नागको मात्रै फोटा बनाको? बुवा! नागका फोटातिर हेरेर मैले फेरि सोधेकी थिएँ।’
“पृथ्वीमा धेरै प्रजातिका सर्पहरु छन्। तीमध्ये विशेष गरी वासुकी नाग, अनन्त, शेष, तक्षक, पद्म, कुलीक, शङ्खपाल, कालीय, नामका सर्पहरुलाई आदरपूर्वक नागका रुपमा पूजा गरिन्छ। भनेर बुवाले पूजा गरिसकेपछि मलाई टीका लाएर दक्षिणा र हातमा मिठो पञ्चामृत, नैवेद्य दिनुभएको थियो। त्यो सम्झदा अहिले पनि मुखभरि सरर्र पानी रसाएर आउँछ।
बिस्तारै म ठूली हुँदै गएँ। हाम्रो घरमा वर्षेनि नाग पञ्चमीका दिन ढोकामा नागका फोटा टाँस्ने चलनले निरन्तरता पाइरहेको छ। जब म कक्षा पाँचमा पढ्ने भएँ एक दिन हाम्रो विज्ञान कक्षामा मिसले सर्पका विषयमा भन्नुभयो “मानव जीवनमा सर्पको ठूलो महत्व छ। सर्प हाम्रा मित्र हुन्। यिनीहरु जमिन मुनि बस्ने हुनाले माटो खुकुलो भई उर्बर शक्ति बढ्छ र अन्नबाली सप्रन्छ। हाम्रो पाकेको अन्नबाली सखाप पार्ने, घरको भुइँ भित्ता खनेर प्वाल पार्ने मुसालाई सर्पले खाइदिन्छ । सर्पको विषबाट औषधि बन्छ। यस्ता थुप्रै गुणहरु छन् सर्पमा। त्यस कारण हाम्रो पुर्खाले सर्पको संरक्षणमा जन चेतना जगाउनका लागि ढोकामा नागका तस्बिर टाँस्ने चलन बनाएको हुनुपर्दछ।”
मैले सर्पले टोकेर नेपालगन्जकी मेरी सानीमा मरेको झट्ट सम्झेँ र प्रश्न गरिहालेँ “मिस ! सर्पले टोकेपछि मान्छे मर्छ नि त। ढोकामा टाँसेका नागले पनि ती टोक्ने सर्पलाई केही गर्दा रहेनछन्। अनि नमारेर के गर्नु त नि?
“तिमीले सही प्रश्न ग¥यौ सुन– सर्पलाई देख्ने बित्तिकै लखेट्ने, घोच्ने, ढुङ्गाले हिर्काउने गर्नु हुँदैन। नचलाए, नजिस्क्याए, सर्पले यसै टोक्न आउँदैन। सर्प देखेर मान्छे डराउँनु पर्दैन। मान्छे देखेपछि सर्प आफैँ डराएर सुलुलुलु गरी धस्रेर भागिहाल्छ।
अर्को कुरा हो… सर्पबाट वर्षेनी विशेष गरी गृष्म र वर्षा ऋतुमा सर्पदंशका घटनाहरू बढी सुन्नमा आउँछन्। त्यो समयमा जमिन तात्ने हुँदा गर्मीका कारण सर्पहरु बाहिर निस्केर कतै लुकी बस्छन्। त्यहाँ सर्प छ भन्ने थाहा नपाएर हिँड्दा कुल्चने, धक्का दिने, छुने गर्दा सर्पले प्रतिकारमा मानिसहरूलाई डस्ने गर्छन्। तर बेलैमा सर्पदंशको उपचार गरेमा निको हुन्छ।”
मिसले भन्नुभएपछि सर्पको महत्व र ढोकामा नागका तस्वीर टाँस्नुको महत्व बुझेँ मैले । त्यसपछि एकदिन यसो सोचेँ बुवाले सधैँ बजारबाट नागका चित्र किनेर ल्याउनुहुन्छ। मैले नि त्यस्तै चित्र बनाएँ भने त त्यो पैसा मैले नै पाउँछु । भनेर रहरले नै कापीमा चित्र कोर्न थालेँ । रहर गर्दैमा, कापीमा धर्सो तान्दैमा चित्र कहाँ बन्थ्यो रैछ र ? मैले बनाएको नागको चित्र त गँड्यौलाको जस्तो पो देखियो । चित्र हेरेर म एक्लै मरी मरी हाँसे। फेरि दोहो¥याएर कोरेँ अहँ नागको जस्तो बनेन । ढोका अगाडि घन्टौँ उभिएर त्यहाँ टाँसेको नागको जस्तै चित्र उतार्न खोजेँ भएन। चित्र कोर्दा कोर्दा भए जति कापी सकियो र पनि चित्र कोर्ने रहर भने मेटिएन। भुइँ, भित्तामा पनि इँटाको टुक्राले कोर्न थालेँ।
त्यो देखेर आमाले मेरो चित्रमा लगाव भएको बुझेर तालिमको आवश्यक भएको महसुस गर्नुभयो । त्यसपछि मलाई कला प्रशिक्षण कक्षमा लगेर भर्ना गरिदिनुभयो । त्यहाँबाट सिकेको सिपले नागका राम्रा राम्रा थुप्रै चित्रहरु बनाएर नाग पञ्चमीमा बिक्री गर्ने गरेकी छु । मैले बनाएका नागका चित्रहरू छरछिमेक टोलमा मात्र नभई मुलुकका अन्य ठाउँमा पनि उत्तीकै माग छ। म अहिले कक्षा ६ मा पढ्दै छु। मलाई सबैले कलाकार सविना भनेर चिन्दछन्। यसरी नागका चित्र बनाएर नाम र दाम दुबै कमाउन सफल भएकोमा अहिले म दङ्ग छु।





