
रचना शर्मा
बिहानै पल्लो घरको सरोज दाइ हाम्रो घरमा आउनुभयो र भन्नुभयो , “ल हात थाप्नुस् त !”
“किन ?” मैले सोधें।
“हात थाप्नुस् न पहिला !”
मैले हात थापेँ। मुसुक्क मुस्कुराएर “आज विशेष दिन हो” भन्दै एक अँजुली विदेशी क्याटबरी हातमा राखिदिनु भयो।
“ल अहिले म लागेँ पछि भेटौँला” भन्दै उहाँ आफ्नो घरतिर लाग्नुभयो । मैले उहाँलाई हेरिरहेँ । उहाँले पनि फर्कीफर्की मतिर हेर्दै हाँस्दै आफ्नो घरभित्र छिर्नुभयो।
“विशेष दिन किन भन्नुभएको होला ?” म रनभुल्लमा परेँ।
एकछिनपछि एक हुल ठिटाठिटीहरु “हेप्पी चक्लेट डे” भन्दै ठुल्ठूलो स्वरमा बाटोमा हल्ला गर्दै हिंडिरहेका थिए । बल्ल पो मेरो मोटा बुद्धिले अड्कल गर्यो ती दाइले विशेष दिन भन्दै मुसुक्क परेर चक्लेट दिनुको रहस्य।
“‘रोज डे र प्रपोज डे मा पनि आउनु भएको थियो होला तर म घरमा थिइन। त्यसैले आज ‘चक्लेट डे’ मा भएपनि ….. ।” मनभित्र अनेक तर्क खेलाउन थालेँ । त्यही मुस्कान झलझली सम्झिएर रमाउन थालेँ।
केहिछिनमा खाना खाएर मोबाइल लिएर फेसबुक हेर्न थालेँ । ट्वाङ्ङ सूचना बज्यो , हेरेँ । एक बर्ष अघिको मेमोरीको सूचना रहेछ । त्यसबेला के पोस्ट गरेकी रहेछु भन्ने उत्सुकता जागेर तुरुन्तै मेमोरी पोस्टमा क्लिक गरेँ ।
हाय राम ! उनै सरोज दाइलाई जन्मदिनको शुभकामना दिएको पोस्ट पो रहेछ ।





