दबाब


ढाकामोहन बराल
पोखरा ७ मासबार,कास्की

“बाबु निकै ज्ञानी भएको छ हिजोबाट।” श्रीमतीले भनिन् ।
“ठिक छ नि त । हिजोबाट त बाबुको परीक्षा पनि शुरु भयो हैन ? यसपटक त नेत्र प्रसादको छोरीको भन्दा राम्रो गर्छ कि !” मैले पनि केही आशा राखेँ छोराबाट।
“ल खाना खान बोलाउनुहोस् उसलाई पनि।” श्रीमतीले मलाई काम अह्राउँदै आफू खाना पस्किन थालिन् । हामी मध्यम परिवारका जागिरेहरुको खासै बचत केही नहुने तर छोराछोरीको पढाईमा गरेको खर्चले राम्रै उपलब्धि होस् भन्ने चाहाना राखिन्छ। परीक्षाको समयमा छोराछोरी राम्रोसँग पढेर बसेको देख्दा निकै आनन्द लाग्छ । म पनि खुशी हुँदै पल्लो कोठामा छोरालाई खाना खान बोलाउन गएँ।
“ए बाबु के गरेर बसेको ? ” छोराको गतिविधि देखेर मैले आश्चर्य मान्दै सोधेँ । अकस्मात् मेरो प्रवेशले उसको एकग्रता भंग भए जस्तै भएर ऊ झस्कियो । पाँच कक्षामा पढ्ने मेरो छोरो आफ्नो गल्ती फेला परेकोमा डरायो।” हजूरहरुले सधैं रिजल्ट लिन जाँदा अरुको भन्दा कम मार्क आयो भनेर कराउनु हुन्छ । अब के गर्ने त मैले ?” भन्यो उसले । उसको अगाडि परीक्षामा लुकाएर लैजान भनेर तयारी गर्दै गरिएका चिटहरु थिए।