
माहेश्वरी भट्ट
कञ्चनपुर
समीक्षा र अनिश कलेजका साथी थिए। एकअर्कासँग समय बिताउन मन पराउँथे, घण्टौँ कुरा गर्थे, साथमा हिँड्थे। उनीहरूको सम्बन्धलाई बाहिरबाट हेर्दा प्रेम जस्तै देखिन्थ्यो। समीक्षा कहिलेकाहीं सोच्थी, “के यो प्रेम हो? कि केवल आकर्षण ?”
एक दिन, समीक्षा अनिशलाई सोध्न चाहन्थी, तर शब्दहरू मनमै रोकिइरहे। समय बित्दै गयो। अनिशको जीवनमा नयाँ मानिस आए। अब ऊ समीक्षासँग पहिले जस्तो समय बिताउन छाडिसकेको थियो। समीक्षा पनि बिस्तारै टाढा हुन थाली।
केही महिनापछि समीक्षा पार्कमा एक्लै बसेर सोचिरहेकी थिई, “यदि त्यो प्रेम थियो भने, किन टुट्यो? यदि प्रेम भनेको सँगै हुनु मात्र हो भने, अहिलेको यो एक्लोपन किन ?”
त्यही बेला उसले नजिकै एउटी वृद्ध महिलालाई देखी। उनीएक वृद्ध पुरुषको हात समाउँदै मुस्कुराइरहेकी थिईन्। समीक्षा उनीहरूलाई हेर्दै सोच्न थाली, “शायद यही हो प्रेम, जुन समयसँग कमजोर हुँदैन, बरु अझै बलियो बन्दै जान्छ।”
त्यसपछि समीक्षा आफैँसँग मुस्कुराई। उसले अब बुझिसकेकी थिई—अनिशसँगको सम्बन्ध केवल आकर्षण थियो, जुन समयसँग हरायो। तर प्रेम ? त्यो त धैर्य, समर्पण, र विश्वासमा अडेको हुन्छ।
समीक्षाले अब प्रेमको सही परिभाषा पाइसकेकी थिई।





