उज्यालो सोच

 

सन्जिता भट्टराई
धनगढीमाई, सिरहा

​”ला, अब मेरो अनलाइन कक्षा कसरी हुन्छ ?” कमलाले सुस्केरा हाल्दै भनिन् । उनको स्वरमा चिन्ता स्पष्ट झल्किन्थ्यो।
त्यसबखत ​बाहिर मुसलधारे झरी परिरहेको थियो । एक्कासी झ्याप्प बत्ती निभेको थियो । अन्धकारसँगै २२ वर्षीया कमलाको मनमा पनि निराशाको कालो बादल मडारिन थालेको थियो ।
सोफामा बसिरहनुभएका बुबाले स्नेहपूर्वक सान्त्वना दिनुभयो, “नआत्तिऊ छोरी, प्राविधिक समस्या त भइहाल्छ नि । केही बेरमा बत्ती आइहाल्छ, धैर्य गर ।”
​भान्साबाट आमाको कडा स्वर सुनियो, “केको अनलाइन-सनलाइन ! छोरी मान्छेले पढेर र जागिर खाएर के नै लछारपाटो लाउने हो र ? उमेर पनि २२ पुगिसक्यो । यसपालिको लगनमै फागुनमा बिहे गरिदिए ढुक्क हुन्थ्यो । अर्काको घर जाने जातलाई किन यति धेरै सास्ती !”
आमाको कुराले कमलाको मन कुँडियो । उनी बिस्तारै बुबाको नजिक पुगिन् र दृढताका साथ भनिन्, “बुबा, म कसैको बोझ बनेर होइन, आफ्नै खुट्टामा उभिएर मात्र बिहे गर्न चाहन्छु । मेरो सपनालाई खुम्चिन नदिनुहोस् ।”
“त्यतिबेला न‌ै छिमेकी अवकाशप्राप्त शिक्षक श्रीराम मास्टरको आगमन भयो । घरभित्रको तनावपूर्ण वातावरण बुझ्न उनलाई समय लागेन । उनले शान्त स्वरमा सम्झाए, “दिदी, जमाना बदलिइसक्यो । जसरी मोबाइललाई समय-समयमा अपडेट नगरे चल्दैन, त्यसरी नै हाम्रो समाज र सोच पनि अपडेट हुन जरुरी छ । छोरीलाई शिक्षित र आत्मनिर्भर बनाउनु भनेको एउटा परिवारलाई नै बलियो बनाउनु हो । पढेकी छोरी त झन् गर्वको विषय पो हो त !”
​मास्टर साबको तार्किक कुराले आमाको मनमा एक किसिमको हलचल ल्यायो । उनी केही बेर निशब्द भइन् । आफ्नो पुरानो सोचमा पुनर्विचार गरिरहेकी थिइन् सायद ।
​ठिक त्यति नै बेला कोठामा उज्यालो छरियो । “बत्ती आयो !” कमलाको अनुहारमा खुसीको चमक फर्कियो । उनी हतार-हतार आफ्नो पढ्ने टेबलतिर लागिन् ।
बाहिरको अन्धकार हटेसँगै घरभित्रको वैचारिक अँध्यारो पनि चिरिएको थियो । कमलाको उमङ्ग देखेर आमाले मुस्कुराउँदै भनिन्- “बत्तीले कोठा उज्यालो बनाएजस्तै सन्तानको सोचले घरको भविष्य अवश्य उज्यालो बनाउँछ ।”