ऋषि पन्चमि


मधुसूदनप्रसाद घिमिरे

नातिनी नछुने भएकाे यसै पालि हाे। अब यसले पन्चमिकाे दिन बिहानै उठी माटाे पानी तीन सय पैसठ्ठी पटक गर्नु पर्छ। दतिउनका टूक्रा तीन सय पैसठ्ठी टूक्रा चपाइ नुहाएर सप्त ऋषिकाे पूजा लगाउनु पर्छ।
नातिनीले साेधी – ” तेसाे नगरे के हुन्छ ? म त साबुन लगाएर नुहाउछु। अरु गर्दिन।” हजुर आमा रिसाउँदै भन्नु भाे” “रजस्वला हुँदा कसैलाई छुन हुँदैन। जानी नजानी छाेइएकाे रहेछ भने याे ऋषि पन्चमिमा गर्ने कार्य गरे पछि दाेष निवारण हुन्छ। तँ नचाहिँदाे कुरा गर्छेस् ?”
सङ्गै बसेकाे दाजुले भन्याे -” तपाईँ नकराउनुहाेस् हजुरआमा ! पहिला पाे साबन थिएन माटाे पानी गर्थे । मन्जन् थिएन दतिउनले दाँत माझ्थे। अनि अहिले अफिसमा पुरुष महिला सङ्गै काम गर्छौँ। खाजा बनाउने पनि महिला नै हुन्। हामी सधैँ त्यही खाजा खान्छाैँ। के ती खाजा बनाउने दिदी कहिल्यै रजस्वला हुन्नन् त ?
अब पुराना कुरा गए। अहिले काम गर्ने कार्यालय नै पन्चमिमा बिदा दिदैन। अब जागिरै छाड्छन् त ? हजुर आमा ठस्किदै अर्काे काेठामा फतफताउँदै जानु भाे । अबदेखि घरका कसैले छाेएकाे पनि खाइदैन।अब म आफैँ पकाउछु। आफैँ खान्छु।