रमेश सुबेदी
ललितपुर – १३,कुसुन्ती
एकै ठाउँ उम्रेको फर्सी र लौकाको बीच द्वन्द चल्न थाल्यो । झाँक्रो फिझाए झैं फर्सी चारै तिर फिजिएर, छाड सबै मेरो ठाँऊ हो भन्दै मुन्टाहरु यत्र तत्र छरिन थाल्यो । यो देखेर लौका रिसाउँदै भन्न लाग्यो, म त माथि माथि जान्छु नि, तर तैंले किन मलाई डसेर अबरुद्द गर्न थालेको ?
फर्सी र लौकाको कुरा सुनेर बीचमा उम्रेको घ्यू-सिमी आफ्नु सानो छेस्को देखाउँदै लौका लाई भन्यो, आफूले नी खुसुक्क एउटा नङ्ग्रा किन मेरो बाटो तिर तेर्स्याएको नि ?
फर्सीले भन्यो आफू पहिले उम्रेर आफ्नु ठाउँ सुरक्षित गरी सकेको थिएँ । तिमीहरू म भन्दा पछि उम्रेर मलाई कराउँदै छौ । आखिर मैले दुई तीन पटक त आफ्नु मुन्टाको तरकारी बन्ने सौभाग्ये पाई सकें ।
समय सापेक्ष मानवले मल, जल र कीटनाशक औषधि दिएर स्वास्थको ख्याल गर्दै लौकाको लहरा र सिमीको लहरालाई थांक्रो सहित वरीपरी किलो गाडेर छत जस्तो हुने गरी फरक फरक बाटो बाट माथि उल्लन डोरीले भ्यार्याङ बनाइदियो । फर्सी जमीनमा फिजिन मिल्ने गरी छोडी दियो ।
एक अर्कालाई हानि नोक्सानी नगरी आ-आफ्नु बाटो पहिल्याए र राम्रो सङ्ग उत्पादन दिन लागे । यसरी सबैको राम्रो भए पछि लौका, फर्सी र सिमी भन्न थाले, आखिर ठाउँ एउटै भए पनि व्यवस्थित तरिका बाट मिलेर बसे सबैको “कल्याण” हुने रहेछ ।