
बासुदेव पाण्डे
बसुन्धरा सुरम्य यो रहन्छ जो हराभरा
किसान देख्छ सृष्टिको मुहान यी गरागरा।
हलो, जुवा, अनौँ सबै लगेर गोरु जोत्दछ
अनेक रत्न छन् यहाँ मिली खटेर खोज्दछ।।
रहन्छ दत्तचित्त ऊ सधैँ बजार्छ पाखुरी
मुठी छरेर बीजको फलाउँदो छ ऊ मुरी।
खटी सिँचाइ गर्छ ऊ लगेर खेतमा कुलो
इमान, कर्मयोगले किसान साँच्चिकै ठुलो।।
सदैव चल्न खोज्छ ऊ बुझेर मौसमी कला
प्रयासबाट प्राप्तिको अनन्त हुन्छ शृङ्खला ।
छ निष्कलङ्क साँच्चिकै उदार सोचसूत्र हो
परोपकार गर्छ झन् किसान भूमिपुत्र हो ।।
दवाब छैन काममा स्वयम् रहन्छ तत्पर
इमानदार कर्ममा, स्वतन्त्र आत्मनिर्भर।
छ कर्मयोग, धीरता, खुसी हरेक थोकले
हुँदा किसान पौरखी मरिन्न लाग्छ भोकले।।
न पीर मान्छ भोकको न वृष्टिको न घामको
भुली थकान देहको खटेर गर्छ काम जो।
छरेर बीज अन्नको उमार्न सक्छ ऊ सुन
सिकाउने किसानले सुखी र पौरखी हुन।।





