“केक”


कृष्ण बोहरा
त्रिपुरासुन्दरी ६, सिन्धुपाल्चोक

“आज हजुरबुबाको जन्म दिन, अलि राम्रो केक अर्डर गरिराख त छोरा !” बुवाले छोरालाई अर्हाए। ” म सक्तिन ” छोराले ओठे जवाफ लगायो। ” जान जा हजुरबाको जन्म दिन आज धुम धामले मनाउनु पर्छ। तेरी आमाले पनि भनेकी छे। केटाकेटी सबै रमाएका पनि छन।” बुवाले पु:न छोरालाई भने। हजुरबुवालाई सोधेर मात्र जान्छु, ” छोराले उत्तर दियो। ”
छोराले हजुरबुवाको कोठामा गएर सोध्यो, ” हजुरबुवा आज हजुरको जन्म दिन, म केक अर्डर गर्न गए। जन्म दिन धुमधामले मनाउने कुरा भएको छ ? ” हजुरबुवा गम्भिरसिङ्ग बस्नेत हकी स्वभावका थिए । उनले नातिको सातो खाए। जहिले पनि के केक केक ? जन्म दिनमा केक,बच्चा जन्मिदा केक, बिहाको एनिभर्सरी कि के भन्यो केक ! केको केक ?
केक काट्नुपर्छ भनेर कुन शास्त्रमा लेखिएको छ ? त्यो  त कुहिरेको मुलुकमा होला। जन्म दिन मनाउँनु नै छ भने अलिकती फलफूल ल्याओ। खुवा किनेर ल्याओ। दही ल्याओ। बरु सेल बनाओ। देउदेउताको फोटो राख। दियोमा बत्ती बाल। अनि मेरो जन्म दिन मनाओ। तेरो बालाई तेसै गर्नु भन्दे।
बत्ती फूकेर निभाई मनाउने जन्म दिनले नेपाली संस्कार अनुसार अलक्षिण लाग्छ। बुझिस…?