छाउगोठ


सत्यजीत

साँझको चिसो हावामा काँपिरहेकी थिई- निमा।
तेस्रो दिनको रगत अझै रोकिएको थिएन।
उसलाई बारीछेउको झुप्रो- छाउगोठमा बसाइएको थियो।
“देउता रिसाउँछन्, छुनै हुँदैन,” आमाले कर्कस स्वरमा भनिन्।
“छोरीलाई त चिसोले पनि नछोओस् भन्या समाज, महिनावारी हुँदा जंगल पठाउँछ,”- निमाले मनमनै सोची। बाहिर सेतो फुसफुसे हिउँ झरिरह्यो। झुप्रोको छानो चुहिन थाल्यो।
रातको अँध्यारोमा एक्कासी चिच्याहट गुञ्जियो। “साप! साप!” को आवाज आयो भित्रबाट।
गाउँलेहरू टर्च लिएर दौडिए।
निमा बेहोस थिई। निलो घाउ, तर बाँचिरहेकी। सर्पले पाखुरामा झम्टेको थियो।
सबै आत्तिए, तर एकछिनमा सबै चुपचाप।
निमालाई हस्पिटल लगियो।
त्यसपछि… गाउँमा निर्णय भयो- “अबदेखि छाउगोठ हटाइनेछ।”
तर निमा बोलिनन्। उसको अनुहारमा घाउभन्दा गहिरो थियो उसको मौनता।