छाेराछाेरी

डा छायादत्त न्यौपाने

ए बुढी थाहा पाइस् ? छाेरीले नाम निकाली छ नि ! कतिका आमा बा नाम निस्केन भनेर छटपटिएका छन् । हाम्री छाेरीले निकाली ।
हाे नि, मिहिनेती छ मेरी छाेरी । हाे, छाेरी तेरै हाे तर मेरो समस्या अर्कै छ ! तिमी त जहिले समस्यामा हुन्छौ, छाेरीले नाम निकाली खुसी हुन छाडेर समस्या रे !
हैन, नाम त निकाली राम्रो भाे तर नाम निकालेपछि भर्ना गर्नुपरेन ?
पर्छ नि, छाेरी डाक्टर भएको हेर्ने कत्रो रहर छ ! हुन त हाे तर आफू हुनुहुन्न मैले छुनुहुन्न भनेझैं ! सपना मात्र देखेर पुग्छ ? आफू उभिएको ठाउँ हेर्नुपर्दैन ?
ठिकै छ त तराईको खेत बेचिदिऊँ, अरु तानतुन गरेर पुर्याइएला नि २०/२५ लाख त ! अँ, विकल्प त्यही हाेला !
ए छाेरी ! भर्ना कहिलेसम्म गरिसक्नुपर्ने हाे बुझेकी छस् ? हैन बाबा मैले माइक्रोबायोलोजी पढ्ने विचार गरेँ । हामी ३/३ जना छौँ १ जनाले पढेर भएन । फेरि हामी १ जनाले पढेर अर्कोलाई सघाउन पनि भ्याउँदैनौं सँगसँगै जस्तो छौँ ।
ठिकै छ नि अहिले तैंले पढ पछि भाइहरूकाे पालामा कुनै उपाय निस्कला ! यिनीहरू पनि स्वास्थ्यविज्ञान नै पढ्छन् भन्ने पनि छैन नि । हैन आमा, अब म अर्कै विषय पढ्छु, जे पढे पनि राम्ररी पढ्ने हाे , पढे भइहाल्छ । याे हामी दिदीभाइकाे निर्णय हाे । बरु तपाईँहरू खेत बेच्न नहतारिनु !
छाेराछाेरीकाे साथ पाए बुढेसकाल सुखी हुन्छ भन्छन् । उनीहरू किशोर र हामी प्रौढ हुँदै साथ मिल्यो । नाम निस्केको छ जसरी पनि पढाउनुपर्छ भनेर जिद्दी गरेको भए ? सम्झँदा हृदय भरिन्छ । मनकाे बह कतै नकह, पढ, व्यवस्था हुन्छ भनेर अघि बढाउन नसकेको पछुतोले भने दुख्ने गरी पिटिरहेकाे छ !
जीवन सङ्घर्ष हाे,जुन आफैँले गर्नुपर्छ । छाेराछाेरीले समयमा बुझिदिए ।