जिद्दी


हरि श्रेष्ठ
भीमेश्वर नपा-२ दोलखा बजार

“आमा…! आमा..! भोलि मलाई एउटा मोबाइल ल्याईदिनुस् है!” छोरोले भन्यो।
आमाले रिसाउदै भनिन्-“होइन तिमीलाई कसले सिकाउँछ हँ यस्तो कुरा ? साना बच्चाले मोबाइल चलाउनु हुन्न भन्ने कुरा तिमीलाई थाहा छैन।”
पल्लो घरे रोहन दाइले भनेको मोबाइलमा राम्रा राम्रा गेमहरु हुन्छन् रे! त्यो गेमहरु खेल्दा रमाइलो हुन्छ रे। पैसा पनि आउँछ रे!
“ए…त्यही फ्रि फायर र अरु केके गेम भन्छन् नि, यतिखेर नामपनि आएन। यस्तो गेम खेल्नु हुन्न बाबू ! यस्तो गेमहरु खेलेर कति बच्चाहरु पागल भएका छन्।” आमाले सम्झाउदै भनिन्।
“नाई..आमा! ल्याउने भए ल्याईदिनुस्। नल्याउने भए भोलिदेखि स्कुलै जान्न र खाना पनि खान्न !” “मलाई के धक्कु लाउँछौ,तिम्रो बाबालाई भनन!” आमाले भनिन्।
“नाई के आमा! तपाईँ नै भन्नुस्।” छोरोले फेरि जिद्दी गर्दै भन्नथाल्यो!
“होइन हो , आमा छोराको के गन्थन् हो ?”
“आफै सोध्नुस् न हजुरको जिद्दीवाला छोरोलाई!”
“के भयो बेटा?” बाबाले सोध्यो।
“मलाई मोबाइल चाहियो बाबा।”
बाबाले सम्झाउदै भन्यो – ” बेटा अहिले तिम्रो मोबाइल चलाउने बेला होइन नि!”
“नाई …बाबा, मेरो साथीहरू मोबाइलमा कति राम्रा राम्रा गेमहरु खेलि रमाउछन्। म चाहिँ हेरेको हेरै। त्यसैले मलाई एउटा मोबाइल जसरी भएपनि ल्याईदिनुस् है! नत्र म बाबासित बोल्दिन् नि!”
“तिमी जिद्दी नगर बेटा ! जिद्दी गर्नुको पनि एउटा हद हुन्छ नि!”
“हुन्न के बाबा! मलाई जसरी नि चाहियो !”
ए… तिमीलाई चाहियो होइन त, ” ल हेर म तिमीलाई गेम खेल्दा के असर हुन्छ भनेर एउटा भिडियो देखाउँछु है।”
ल हेर बेटा, यी तिमी जस्तै केटाहरु हुन्। यिनीहरु फ्रिफायर र पब्जी जस्ता गेमहरु खेलेर पागल भएको । यिनीहरुको जिन्दगीअब के हुन्छ थाहा छ तिमीलाई? कति पीडा छ यीनीहरुलाई। फेरि यिनीहरुलाई मात्र हो र यिनका बाबा, आमाहरुलाई त झन् कति पीडा भाको होला!
यो दृश्य देखेर उ आफैँ डाको छोडी रोयो र बाबा आमालाई भन्यो -” अब मलाई त्यो मोबाइल सोबाइल चाहिँदैन र म बाबा आमालाई जिद्दी पनि गर्दिन। सरि बाबा! सरि आमा!”