ढोगीपन


सत्यजीत
ललितपुर

घण्टी बजिसकेको थियो।
उज्ज्वल दौडिँदै विद्यालयको गेटमा पुग्दा प्राचार्यको आवाज गर्जियो- “अनुशासन बिनाको मान्छे जनावर जस्तै हुन्छ!” सबै विद्यार्थीहरू अगाडि, उज्ज्वललाई चौरमा उभ्याइयो। भोक, तिर्खा र अपमानले उसको ओठतालु सुकेजस्तै देखिन्थ्यो।
टिफिनको बेलामा त्यही प्राचार्य क्यान्टिनको कुनामा चुरोट तान्दै हाँसिरहेका थिए। थोरै पर, ट्राफिक प्रहरीले बिहानको भिडभाड सम्झँदै भनिरहेको थियो- “आज फेरि त्यो प्राचार्य साहेबले सिग्नल तोडेर मोटरसाइकल हाँके।”
उज्ज्वल र उसका साथी त्यो कुरा सुनेर हाँसेे।
एउटा साथीले मुस्कुराउदै भन्यो, “हामीलाई अनुशासन पढाउनेहरू आफैँले नियम त तोड्छन्।” उज्ज्वल मौन थियो।
अझैसम्म प्राचार्य चुरोटको धुवाँभित्र हराउँदै थिए।
उज्ज्वलले मनमनै सोच्यो- “अनुशासन त हात्तीको दाँत जस्तो- देखाउने एउटा, चपाउने अर्कै।”