दशैँ

सोम कुमार सुब्बा
लिङ्दोक,पूर्व सिक्किम

छोरो दशैँको छुट्टीमा घर आए। त्यसताका,बा बाख्राको खोर सफा गर्दै थिए। उनले हातमा उठाएको घसेउटो मिल्काँउदै सोधे – “बाबू!आइ पुगिस?”
“आँए बा,ढोग गरें।”
उनले केहीक्षण छोरोलाई खुसमिजाज अन्दाजमा हेरे र खोरतिर औंलाउँदै भने – “यो पालि देवी खुसी पार्ने यही हो!”
छोरोले खोरतिर हेर्यो,एउटा पाठोले उसलाई पिलपिल आँखाले हेरिरहेथ्यो,कान र पुच्छर पनि फुत्रुक्क हल्लायो। उसलाई माया लाग्यो र बालाई आग्रह गर्यो – “बा! भोग नचढाँउन।”
“त्यसो भनेर कहाँ हुन्छ ! यो हाम्रो संस्कार हो, उहिलेदेखि गरी ल्याएको।” बा बुरुक्क उफ्रे।
“नगर्दा के हुन्छ ?”उसले सोध्यो।
“देवी रिसाँउछिन।” भन्दै घामलाई ढोगे।
“लौ!यो पालि नगरौँ , देवी रिसाइन भने मेरो जिम्मा !”छोरो पनि जङ्गिए।
केहीक्षण वातावरण चकमन्न भयो। बा छोरा हेराहेर गरे। तत्क्षणै पाठोले उसको आमालाई सुस्तरी आवजमा सोध्यो –
“आमा,हाम्रो दशैँ कहिले आउँछ ?”
आमाले अर्कोपट्टि मुख फर्काउँदै भनिन् – “मान्छेको दशैँबाट बाच्यौँ भने!”