सोनिया श्रेष्ठ
दक्षिणकाली-३
बिहानको अलार्मले उठायो । निद्राले भने रमितालाई अझै बाँधिरहेको थियो। आँखा मिच्दै रमिताले मनमनै भनी
“आज त विद्यालय जानै मन छैन, के गर्ने होला ?” मोबाइल उठाएर सरलाई फोन गरी। “हेलो सर, आज म अलि बिरामी छु, आउन सक्दिनँ।”
फोनको अर्कोपट्टि केही क्षण मौनता छायो। अनि सरको कोमल स्वर आयो– “हुन्छ, आराम गर। स्वस्थ रहनू।”
फोन राखेपछि रमिता बिस्तारै हाँसी। शरीर त ठिकै थियो, तर निद्राले रमितालाई बिरामी बनाइदिएको थियो। बिस्तरामा पल्टिँदै मनलाई सम्झाउदै रमिताले भनी “आज त मैले सरलाई झुक्याएँ।”
थोरै समयपछि उसले सोची,’सरले त सबै बुझ्नुभयो होला, तर नबुझेको झैँ गरेर मलाई आराम गर्न दिनुभयो। त्यो उहाँको स्नेह र विश्वास थियो।’
एकैछिनमा रमितालाई लाग्यो— “विद्यार्थी जीवन भनेको किताब मात्र होइन, सत्यता, अनुशासन र विश्वासको पाठ पनि हो। सरलाई झुक्याएर मैले पढाइ मात्र होइन, विश्वास गुमाउने खतरा मोलेँ।”





