वेदका मन्त्र

185

खगेन्द्र बस्याल
तिलोत्तमा ९ सरस्वती पथ,रुपन्देही

`बाबु आगो र आमा पानी हुनुपर्दोरहेछ बुढा ।´ दैलातुङ्ग फाँटमा दिनेशलाई उनकी पत्नी कमलाले छोराछोरीले सुन्ने गरि भनिन् ।
`हो त नि,मलाई त्यो थाहा थियो। तिमीले छोराछोरीलाई मायालु शब्द प्रयोग गर्नुपर्छ। जे चाहन्छन् त्यो तत्कालै पुर्याउनु पर्छ भनेपछि मैले तिम्रो निर्देशन मानेको हुँ। त्यसो नगरे तिम्रो रुप महाकाली हुने पक्का थियो ।´ दिनेशले आफ्नोे पीडा बताए ।


`अनि पछि सुधारे भइहाल्थ्यो नि।किन त्यसो गर्नु भएन।दोष जति मेरो टाउकोमा हाल्ने तपाईंको बानी कहिले जाला खै!´ कमलाले झर्कदै भनिन् ।
दिनेशको भनाइ रह्यो ` समय व्यतीत भइसकेपछि सुधार असम्भव हुन्छ नि। समयलाई बेलैमा नचिनेकाहरु टाउकोमा हात राखेर पछुताएका मानिसहरु तिम्रै आँखाले कति देखेकी छ्यौ कति! अनि भन त कसरी आज तिमीलाई शुरुको ब्रम्हवाक्य फुर्यो?´
कमलाले भनिन् ` माझाघरे हरिबाबुले आफ्ना छोराछोरीलाई सधै गाली गरिरहेको देखेको थिएँ। उनीहरूले चाहेको कुरा बेलैमा कुनै कुरा पाउँदैनथे। तर उनैका सवै छोराछोरीहरु उच्च ओहदामा पुगे।हाम्रालाई के के न माया गरियो ।सधै जहाँको तहीँ। गरिखाने भएनन्।´
दिनेशले सोधे ` मेरो जिज्ञासा मेटाइनौ त,के कुराले तिम्रो तेस्रो नेत्र खुल्यो , भन त ?´
कमलाले भनिन् ` आज कुसे औँशीमा बाबुको मुख हेर्न आएका उनका जेठा छोरालाई सोधेकी थिएँ, तिमीहरूका बा ले सधैं गाली मात्रै गर्नु हुन्थ्यो ,मीठो खान र राम्रो कपडा किनीदिन पनि कञ्जुस्याई गर्नु हुन्थ्यो कसरी प्रगति गर्यौ सवैले ?”
दिनेशले सोधे ` उसले के जवाफ दियो त तिमीलाई?´
कमलाले जानकारी दिइन्` उसले मलाई भनेको थियोे ,बाबुको गाली त वेदका शक्तिशाली मन्त्र हुन् नि ! उहाँले त्यसरी गाली नगरी रहनु भएको र अनावश्यक फुरमास गर्न पाएको भए हामी सधैं कुवाका भ्यागुता हुनेथियौँ ।´