“सदाचार”

घनश्याम रेग्मी

छन्द=विधाता
गण : य र त म य गु

उदाए सूर्यको लाली अँध्यारो दूर सर्ने हो
निशाको कालिमा चिर्ने दियोले काम गर्ने हो
परे पानी हिलो मैलो, धुलो सारा पखालिन्छ
सदाचारी भए मान्छे , जगत्‌मा शान्ति फैलिन्छ ।

नबालौँ दम्भको ज्वाला सबै पोलिन्छ आगाले
झुटो टालो कहाँ टिक्ला कहाँ जोडिन्छ धागाले
निमोठे वृक्षको हाँगो छ पक्का बोट वैलिन्छ
सदाचारी भए मान्छे , जगत्‌मा शान्ति फैलिन्छ ।

पढी लेखी गुनेकाले सबैको होस् भलो भन्छ
उज्याला काम गर्ने हुन् अँध्यारो फाल्न तम्सिन्छ
खुला छोड्यो भने धागो कता हो कुन्नि जेलिन्छ
सदाचारी भए मान्छे , जगत्‌मा शान्ति फैलिन्छ ।

अशिक्षा अन्धकारै हो कहाँ देख्ला र संसार
गरे अल्छी हुने भोकै कहाँ भर्ला र धन्सार
लगाएका लुगा हाम्रा नधोई हुन्न मैलिन्छ
सदाचारी भए मान्छे , जगत्‌मा शान्ति फैलिन्छ ।