
पुण्यप्रसाद घिमिरे
दाेलखा
मेराे त कामै काम छ, खल्तीमा दामै दाम छ,
कुसाेच छैन कसैमा, मनमा घामै घाम छ
कुराैटे पात पत्कर, सर्याङ् सुरूङ् छुदैमा,
गालीका शब्द परित्याग, मुखमा रामै राम छ
सुकिलाहरूकाे जमघट, खटपट अनि बखेडा,
गफिनु छैन चाेकमा, खेतबारी कर्म धाम छ
साथमा भला मित्र छन्, उचाल पछार यिनैकाे,
हलाे र कुटाे काेदालाे, हात ठेला डामै डाम छ
हिलैमा डाक्छु मङ्सिर, धानका बाला बयली,
गर्व छ आफ्नै पेसामा, कृषक मेराे नाम छ ।





