
रञ्जुश्री पराजुली
एउटा नौ बर्षको केटा थियो । उसको नाम प्रकट हो । घरमा माया गरेर सबैजना उसलाई “पची” भन्दछन् । उ असल, ज्ञानी , पाठ्शालामा साथीहरुलाई अनि घर भित्र आमालाई र छिमेकमा पनि आफुले सक्ने कुरामा सबैलाई मद्दत गर्न मन पराउँछ । घरमा उसको एक जोडी पाल्तु खरायो पनि थिए । ती खरायोहरु सफा सेतो भुवा भएका राम्रा थिए । पची तिनीहरुको भाँडामा दानापानी छ कि छैन हेर्ने, स्कुल जाने बेला पनि माया गरेर मुसार्ने अनि म आए पछि खेल्नु पर्छ है भनेर जाने गर्दथियो। पचीका आमा बाबा दुबै डाक्टर भएकाले अलि व्यस्त हुन्छन् । त्यसैले उ घरमा प्रायः हजुरबासँग पढ्ने, खेल्ने,कथा सुन्ने गरेर बस्छ । उसलाई मोटर, हवाईजहाजहरु मन पर्छ । उसँग करिव पचासवटा जति विभिन्न कंम्पनीले बनाएका साना खेलौना मोटर कार र हवाई जहाज छन् । ती सबै उसले आफ्नो कोठाको तखत्तामा सजाएर राखेको छ । उसलाई आफूसँग भएका कारहरु कुन चाहिँ कुन कंम्पनीको कुन रङ्गको सबै कन्ठ छ । पच्चीको घरमा एउटा उ जत्रै रमेश भन्ने केटा पनि छ । उ बिहान बेलुका आमालाई भान्सामा सहयोग गर्छ । दिउँसो स्कुल जान्छ । अरु बेला पची सङ्ग खेलेर बस्छ । पचीका हजुरबासँग कार रेस पनि खेल्छ । उसलाई पहेँलो रङ्ग मन पर्ने हुनाले कार रेस खेल्दा सधैँ पहेंलो रङ्गको कार छान्छ । कार रेसमा उ एउटा काल्पनीक साथी ” राम” पनि राख्छ । खेल्दा सधैँ राम हार्छ अनि उ आफू पहिलो र हजुरबा दोस्रो हुन्छन् । घरको साथीलाई पनि उ कहिले काहीँ कार रेस खेलाउँछ । कहिले काँही हजुरबालाई जिताउँछ । अनि ताली बजाउँदै “आज हजुरबाले कार रेस जित्नु भयो ” भन्दै खुशी हुन्छ। बुबा आमा घर आए पछि उहाँहरुलाई पनि त्यो खवर सुनाउँ छ । नातिलाई घर भित्र मात्र खेलेर पुग्दैन । बाहिर प्राकृतिक वातावरणमा पनि भिज्न दिनु पर्छ भनेर हजुरबा स्कुलबाट आए पछि उसलाई साथमा लिएर करेसा बारीमा बोट बिरुवा गोडमेल गर्न लगाउनु हुन्छ । माटो कोट्याउँदा गड्यौला सल्बलाउँदै बाहिर निक्ले पछि त्यो देखेर उ अचम्मित हुँदै “त्यो केहो, कसरी माटो भित्र बस्छ , यसले बिरुवाहरुलाई के गर्छ” भनेर प्रश्न पनि गर्दछ। हजुरबा त्यस बिषयमा सबै प्रकृतिको नियमहरु नातिलाई बताउँनु हुन्छ । त्यस्तै रुखमा चराको गुँड देख्दा, आकाशमा चील घुमेको देख्दा पनि उ रमाउँछ । पुस्तको पढाईलाई बलियो बनाउन प्रकृतिको लिलालाई पनि जान्नु पर्छ भन्नेकुरा हजुरबालाई थहा थियो । त्यसबारे उहाँले सबै कुरा सानो नाति प्रकटलाई बताउनु हुन्थ्यो । यी सबै कुराको जानकारी पाएर प्रकट खुसी थियो । उसको बोलिचाली सबै रसिलो थियो । उसलाई सबैले मन पराउँथे।





