“अन्धकारबाट प्रविधिको उज्यालोतिर”


रोजिना घिमिरे

(स्थान: घरको एउटा कुना, जहाँ मधुरो बत्ती बलेको छ। हातमा एउटा पुरानो चश्मा समातेर टोलाइरहेका बुवा। अनुहारमा चिन्ता, निराशा, र गहिरो सोचका रेखाहरू छन्। बाहिर पानी परिरहेको आवाज सुनिन्छ, जसले कोठाको सुनसानलाई झन् गाढा बनाएको छ। उनी आफैंसँग एकदमै भावुक र आक्रोशित हुँदै फतफताउन थाल्छन्।)
के भन्यो यसले भर्खरै ? मलाई मोबाइल चाहिन्छ रे ?
(लामो र अत्तालिएको सुस्केरा हाल्दै, टाउको दुवै हातले समात्छन्)
होइन, यसको यो माग सुनेर मेरो त टाउको नै रिंगायो। अचेलका केटाकेटी… त्यसमाथि मेरो यो सन्तान! भगवानले पहिल्यै यसको भाग्यमा संसार देख्ने, हिँड्ने, वा अरूजस्तै सामान्य हुने तागत दिएनन्। शरीरमा जन्मैदेखि यस्तो कमजोरी छ। दिनरात यसकै भविष्यलाई लिएर मेरो मुटु जलिरहन्छ। म मर्दा यसको सहारा को होला भनेर हरेक रात सिरानी आँसुले भिज्छ। अनि आज यसले यस्तो कुरा माग्छ? मोबाइल रे! त्यो पनि यति महँगो?
छिमेकीका सग्ला, सपाङ्ग भनिएका छोराछोरी त दिनभरि त्यही सानो पर्दामा आँखा गाडेर बिग्रिएका छन्। पढाइ बर्बाद भएको छ, कुलतमा फसेका छन्, बाआमालाई टेर्न छाडेका छन्। मेरो बच्चा, जो आफैँमा यति संवेदनशील छ, जसलाई चौबीसै घण्टा अरूको सहारा चाहिन्छ, उसलाई पनि त्यही रोग सार्नु ? मान्छेहरू भन्छन् मोबाइलले दिमाग बिगार्छ, आँखा बिगार्छ। के मैले आफ्नै रगत-पसिनाको कमाइले यसको हातमा अझ ठूलो बर्बाद हुने साधन थमाइदिने? किनेर त दिऊँला, तर यसले त्यसबाट के नै गर्छ र? न त राम्ररी हेर्न सक्छ, न दौडिन सक्छ, न कुनै काम गरेर दुई पैसा कमाउन सक्छ। कतै युट्युब र भिडियो गेमको कुलतमा फसेर भएको अलिकति पढाइ पनि नाश भयो भने? अहँ, म त दिन्नँ। बरु दुई थप्पड लगाएर तह लाउँछु। यो उसको विलासिता हो, बेकारको रहर हो। हाम्रा पालामा मोबाइल नहुँदा के मान्छे बाँचेका थिएनन् र ?
(उनी जुरुक्क उठ्छन् र कोठामा यताउति आक्रामक रूपमा टहल्न थाल्छन्। मनको आक्रोश र हीनताबोध बाहिर निस्किन थाल्छ।)
यसै पनि… यसै पनि यो समाजले हामीलाई हेर्ने दृष्टिकोण कस्तो छ, मलाई थाहा छैन र ? गाउँघरमा जाँदा मान्छेहरू कुरा काट्छन्– “पूर्वजन्मको पापको फल हो” भन्छन्। कति चित्त दुख्छ, कसलाई भनूँ? लुकाएर लुक्दैन, देखाएर अरूले दयाबाहेक केही दिँदैनन्। सत्य कुरा त यही हो नि, आखिर यो समाजको नजरमा त ऊ एउटा बोझ नै हो। अनि मेरो मनमा पनि कहिलेकाहीँ यो पाप जस्तो विचार किन आउँछ? आउँछ… लुकाएर लुक्दैन। आखिर यसै पनि जिन्दगीभर यसलाई हामीले नै पाल्नुपर्ने त हो नि!
(आफ्नै छातीमा हात राखेर, आँखामा आँसु भर्दै)
कडा सुनिन्छ, तर यो मेरो भाग्यको तितो सत्य हो। अरूका छोराछोरी हुर्किँदै जाँदा बाआमाको सहारा बन्छन्, कमाउने उमेर भएपछि घरको ऋण तिर्छन्, बुढेसकालको लौरो बन्छन्। तर मेरो भाग्य? मेरो भाग्यमा त यसलाई आजीवन काँधमा बोकेर हिँड्नु लेखिएको छ। एउटा परजीवी जस्तै… जो आफैं केही गर्न सक्दैन, जसको अस्तित्व नै अरूको निगाहमा टिकेको छ। खानलाई गाँस मुखमा हालिदिनुपर्छ, दिसा-पिसाब गराउन समातेर लैजानुपर्छ। बिहान उठेदेखि राति नसुत्दासम्म यसकै चाकरीमा जिन्दगी बित्ने भयो। यसको ओछ्यान सफा गर्दा र यसका आवश्यकता पूरा गर्दागर्दै मेरो आफ्नै बैंस गयो, ढाड कुँजो भइसक्यो।
कहिलेकाहीँ त भगवान्सँग पनि रिस उठ्छ। किन मलाई नै यस्तो सजाय दिएको? के बिगारेको थिएँ मैले कसैको? अरूका छोराछोरी जागिर खान्छन्, मोटरसाइकल चढेर हिँड्छन्, बाआमालाई सुख दिन्छन्। मेरो घरमा भने सधैं त्यही रुवाबासी, त्यही ओखतीमुलो, त्यही डाक्टरको चक्कर ! अनि यस्तो अवस्थामा पनि यसलाई मोबाइल चाहिने? म यहाँ भोलि के खाने, यसको ओखती कसरी किन्ने भनेर सानो-सानो पैसाको हिसाब गरेर बस्छु, ऊ भने हजारौँको फोन माग्छ! लाज लाग्दैन यसलाई ? यसले मलाई अझै कति निचोर्न खोजेको हो? के यसको चित्त बुझाउँदा-बुझाउँदै म जिउँदै मर्नु पर्ने हो? एउटा परजीवीलाई पाल्दापाल्दै मेरो सिङ्गो परिवार नै सिद्दिने भयो!
(उनी थाकेको जस्तो गरी एउटा पुरानो मेचमा थचक्क बस्छन्। आक्रोश बिस्तारै पश्चात्ताप र गहिरो मानसिक द्वन्द्वमा परिणत हुन थाल्छ। उनी आफ्नै टाउको ठोक्छन्।)
हे भगवान्! म यो के बोलिरहेको छु? म कस्तो पापी बुवा हुँ? आफ्नै सन्तानलाई… आफ्नै मुटुको टुक्रालाई म ‘परजीवी’ भन्दै छु? ‘बोझ’ भन्दै छु? छिः! म कस्तो कसाई बनेको? मेरो मुख कसरी चल्यो यस्तो नराम्रो कुरा भन्न?
(रुँदै, आफ्नै अनुहारमा थप्पड हान्छन्)
ऊ अपाङ्गता हुनुमा उसको के दोष थियो र? के उसले रोएर, मागेर यो शरीर मागेको हो र? होइन नि। जन्म दिने त म र उसकी आमा हौँ। यदि कसैको कमजोरी छ भने त्यो हाम्रै रगतको कमजोरी होला, तर सजाय त्यो अबोध बच्चाले पाइरहेको छ। जन्मेर अहिलेसम्म उसले बाहिरको संसार राम्ररी देख्न पाएको छैन, अरू केटाकेटी सरह चौरमा दौडिन पाएको छैन। सधैं यही चार पर्खालभित्र थुनिएर बस्नुपर्छ। उसको बाल्यकाल यही कोठाको अन्धकारमा बित्यो। मैले त बरु उसको पीडा बुझ्नुपर्ने, उसको आँसु पुछिदिनुपर्ने। तर म यहाँ बसेर उसलाई घरको बोझ भन्दै सरापिरहेको छु। म कति नीच, कति स्वार्थी मान्छे हुँ!
तर… अहँ, मेरो मनले अझै पनि पूर्ण रूपमा मानेको छैन। द्वन्द्वको आँधी चलेको छ मेरो भित्र। उसले मोबाइल माग्दा उसको आँखामा एउटा बेग्लै तिर्खा थियो। त्यो केवल रहर मात्रै जस्तो त देखिँदैनथ्यो। उसले रुँदै, मेरो खुट्टा समातेर भनेको थियो– “बुवा, मलाई खेलौना चाहिएको होइन, मेरो सहारा चाहिएको हो। म सधैँ हजुरहरूको भार बनेर बस्न चाहन्नँ।”
भार… ओहो, उसलाई पनि महसुस भइसकेको रहेछ कि ऊ यो घरको लागि भार हो! मेरो व्यवहारले, मेरो अनुहारको निराशाले उसलाई यो कुरा बुझ्न बाध्य पारेछ। तर एउटा प्लास्टिक र सिसाको टुक्रा कसरी सहारा बन्न सक्छ ? उसले के-के भन्दै थियो– स्क्रिन रिडर रे, अडियो बुक रे, कुन चाहिँ विशेष सफ्टवेयर रे ! के-के प्रविधि रे ! यी सबै कुरा मेरो यो बुढो दिमागले कसरी बुझोस् ?
(उनी मेचबाट उठेर कोठाको झ्यालतिर जान्छन् र बाहिरको अन्धकारलाई हेर्छन्। उनको सोचाइ अलि गहिरो हुँदै जान्छ।)
कतै म पो गलत छु कि ? म पुरानो जमानाको मान्छे, मैले पो यसको संसार र यसको आवश्यकतालाई बुझ्न नसकेको हो कि? हिजो मात्रै स्कूलको सरले मलाई बाटोमा भन्दै हुनुहुन्थ्यो– “रामेका बुवा, तपाईंहरू जस्तो सोच्नुहुन्छ, संसार अब त्यस्तो रहेन। अपाङ्गता भएकाहरूका लागि प्रविधि विलासिता होइन, यो त उनीहरूको हात-खुट्टा र आँखा जस्तै हो। यसले उनीहरूको जीवन बदल्न सक्छ।”
हो र ? के साँच्चै एउटा सानो यन्त्रले मेरो छोराको जीवनको यो अन्धकार हटाउन सक्छ ?
मैले त सधैँ सोचेको थिएँ, प्रविधि केवल धनीमानीका छोराछोरीले टिकटक बनाउने र भिडियो गेम खेलेर समय बर्बाद गर्ने साधन हो। तर होइन… मैले धेरै पटक याद गरेको छु, ऊ अरू रोएको, हाँसेको, वा कसैले रेडियोमा किताब पढेको सुनेर कति छिटो टिप्छ। भगवानले उसको एउटा अंग कमजोर बनाए पनि दिमाग त कति तीखो दिएका छन्! उसमा सिक्ने कत्रो भोक छ, ज्ञानको कति ठूलो प्यास छ!
तर ब्रेलका किताबहरू सबै कहाँ पाइन्छन् र यो देशमा? बजारमा जाँदा कतै पाइँदैनन्, विद्यालयमा पनि त सामग्री पुग्दैनन्। ऊ पढ्न त चाहन्छ, तर माध्यम छैन। उसले भनेको त्यो ‘स्क्रिन रिडर’ ले सायद फोनमा भएका अक्षरहरू, संसारका समाचारहरू र किताबहरू पढेर सुनाउँछ रे। त्यसो भए त… उसले कसैको सहयोगबिना नै, मेरो आशै नगरी, संसारका ठूला-ठूला किताबहरू आफैं सुन्न सक्छ? आफूलाई मन लागेको कुरा आफैं सिक्न सक्छ?
(बुवाको अनुहारको कठोरता बिस्तारै पग्लिँदै जान्छ। निराशाको बादल हट्दै आशाको मधुरो किरण देखिन थाल्छ। उनी आफ्ना हातहरू हेर्छन्।)
ओहो! मैले त कति साँघुरो, कति कुरुप सोचेको। म त उसलाई सधैं अरूको दयाको पात्र, सधैं मेरै वैशाखीमा टिकेको परजीवी मात्र बनिरहेको देख्न चाहन्थेँ? म नहुँदा उसले कसैको अगाडि “मलाई यो पढेर सुनाइदेऊ न, मलाई बाटो काट्न मद्दत गरिदेऊ न” भन्दै हात जोड्नुपर्ने अवस्थाको परिकल्पना गरेर म आफैं तड्पिन्थेँ। मलाई डर लाग्थ्यो कि म मरेपछि यसलाई कसले पाल्छ? तर यदि एउटा मोबाइलले उसलाई आत्मनिर्भर बनाउँछ भने, उसलाई कसैको वैशाखी बन्नु पर्दैन भने, म कुन मुखले उसलाई रोकिरहेको छु?
आज ‘सहायक प्रविधि दिवस’ रे। रेडियो र टिभीमा पनि कस्तो राम्रो कुरा भन्दै थिए– प्रविधिले अपाङ्गता भएका व्यक्तिहरूलाई संसारसँग जोड्छ। उनीहरूले मोबाइलकै माध्यमबाट कलेजको पढाइ पूरा गरेका छन्, बैंकमा जागिर खाएका छन्, लोकसेवा लडेका छन्, देश-विदेशका मान्छेसँग कुरा गरेर ज्ञान बाँडेका छन्। उनीहरू त कसैको बोझ होइन, समाजका गहना बनेका छन्। अनि म चाहिँ आफ्नै बच्चाको पखेटा पलाउनु अगावै त्यसलाई काट्न खोज्दै छु?
त्यो मोबाइल त उसको लागि एउटा सामान्य फोन वा खेलौना मात्र होइन रहेछ, त्यो त उसको गुमेको क्षमतालाई ब्युँताउने एउटा ‘जादुको छडी’ रहेछ। कसैको आँखा, कसैको कान, त कसैको आवाज र खुट्टा बन्न सक्ने प्रविधि! यो त भगवानले पठाएको दूत जस्तै हो।
(बुवाको आँखाबाट तातो आँसु खस्छ, तर यस पटक त्यो आँसु दुखको होइन, पश्चात्ताप र नयाँ दृढ संकल्पको हो। उनको अनुहारमा एउटा अलौकिक खुसी देखिन्छ।)
धिक्कार छ मेरो अज्ञानतालाई! धिक्कार छ मेरो यो रुढीवादी सोचलाई! मैले त मेरो बच्चालाई समाजको डरले र आफ्नै अकर्मण्यताले कोठामै सीमित राख्न खोजेको थिएँ। उसलाई बोझ सम्झिने म आफैं पो यो समाजको लागि बोझ रहेछु, जसले नयाँ परिवर्तनलाई स्वीकार गर्न सकिरहेको थिएन। तर मेरो छोरा… ऊ त यो प्रविधिको संसारमा डामेर, पखेटा फिँजाएर उड्न चाहँदोरहेछ। ऊ परजीवी भएर बाँच्न चाहँदैन, ऊ त आफ्नै खुट्टामा उभिन चाहन्छ। उसलाई संसार हेर्न मेरो आँखा चाहिँदैन, उसलाई आफ्नै प्रविधिको उज्यालो चाहिन्छ।
म किनिदिन्छु। आजै, अहिल्यै किनिदिन्छु। मेरो खल्तीमा पैसा नभए पनि, मैले आफ्नो पेट काटेर वा कसैको अगाडि हात थापेर ऋण गरेर भए पनि म उसलाई त्यो मोबाइल ल्याइदिन्छु। म उसलाई कुलतमा लाग्न दिन्नँ, म आफैं पनि रातभरि जागा बसेर सिक्छु त्यो प्रविधि कसरी प्रयोग गर्ने भनेर। म उसको सहयोगी बन्छु, उसको यात्राको सहयात्री बन्छु, अब कहिल्यै उसको बाधक बन्दिनँ।
(छोराको कोठाको ढोकातर्फ हेर्दै, भावुक स्वरमा)
छोरा! तिमी पखेटा फैलाऊ। यो बुवा तिम्रो उडानमा कहिल्यै अवरोध बन्ने छैन। मैले तिमीलाई बोझ सम्झेँ, मलाई माफ गरिदेऊ छोरा। प्रविधिको यो उज्यालोले तिम्रो जीवनको हरेक अँध्यारो पाटोलाई सिङ्गो संसार देख्न सक्ने बनाओस्। तिम्रो यो माग केवल रहर थिएन, यो त तिम्रो अस्तित्वको लडाइँ थियो, र यो लडाइँमा तिम्रो बुवा तिम्रो साथमा छ। म बुझ्ने भएँ… म ढिलो गरी भए पनि प्रविधिको यो महत्व बुझ्ने भएँ !
(बुवाको अनुहारमा एउटा सुखद सन्तोष र आत्मविश्वास छाउँछ। उनी आफ्नो आँसु पु्छ्छन् र खल्तीबाट पैसा निकाल्ने विचार गर्दै, छोराको कोठातर्फ दृढ पाइला बढाउँछन्।)