
इन्दिरा प्रयास
चारैतर्फ गुराँसले रनवनै सिन्दूर पाेखे सरि
बस्छन् शैल निकुञ्जकाे शिखरमा भाेले तपस्या गरी
फुल्छन् चाँप सुनाखरी मधुमयी मीठो सुगन्धै छरी
नाच्छन् प्वाँख फिजाउँदै रहरले डाँफे र मैना चरी ।।
सेताे च्यादर झैँ हिमाल जग नै टल्किन्छ आँखा भरि
पग्लन्छन् गिरि टाकुरा जब त्यहाँ पीयूष छर्छन् हरि
झर्दैछन् झरना उता अवनिमा सङ्गीत भर्दै तल
तल्लो पर्वतबाट झर्झर गरी बग्छन् नदी कल्कल ।।
साच्चै सुन्दर छन् पहाड हरिया डाँडा र पाखा पनि
खानी युक्त धरा अगन्य चुचुरा साैन्दर्य गाथा अनि
नेपाली पहिचान छन् गहनता राेटाे ढिँडाे झन् गिठाे
माटाको महिमा सकिन्न कहिले बुझ्दै गए झन् मिठाे ।।
हाम्रो दक्षिण फाँट उर्वर धरा हो अन्न थुप्रोसरि
बाँझाे राख्नु हुँदैन अब्बल गरा बेचाैं फलाईवरी
ढाकिन्छन् फलफूलले हरघडी खान्छाैं बगैंचा छ र
बाक्लो जङ्गल वन्यजन्तु ,खगकाे मान्छन् सबैले घर ।।
अर्को अद्भुत दृश्य देख्छ दुनियाँ गाेसाइँ कुण्डै पर
नेपाली जनकाे अखण्ड धरती जाेड्दै घराना सर
रारा हाँस्छ उता मुसुक्क गिरिमा देखिन्छ नीलाम्बर
फाेक्सुण्डाे गहिराे उचाइ तिलिचो सर्वाेच्चमा सुन्दर ।।





