Categories: बाल कथा

“घर त त्यही हो…


देवीलाल पण्डेय

“घर त त्यही हो… तर मानिस हराएपछि सबथोक एक्लो हुन जान्छ…।”
यो कुनै सामान्य घर होइन।
यो खरले छाएको, ढुङ्गाले अडिएको, माटोले लिपिएको पहाडी भेगको हाम्रो पूरानो घर हो।
एउटा समय थियो, जब यस्तो घरमा विज्ञानको हावा थिएन, तर जीवनको सुगन्ध थियो।
न हिटर थियो, न एसी, न पंखा—
तर चिसोमा तातो हुन्थ्यो, गर्मीमा चिसो।
यो घर आफैँमा एउटा सजीव प्रकृति थियो।
चिसो हावाले ढोका खट्काउँथ्यो, घामले आँगनमा सुनौलो प्रकाश छर्दथ्यो।
खरको छानोबाट झुल्किएको सूर्यले बिहानको सुगन्ध ल्याउँथ्यो।
आँगनमा बाख्राले मिमियाउँथ्यो, कुनैबेला यो घरको आँगन पाहुनाहरूले भरिन्थ्यो घरमा एउटा अलग्गै रौनक हुन्थ्यो बालबालिकाहरू धूलोमा लडिबुडी खेल्थे।
भित्र आमाको हातले पकाएको भातको बास्ना आउँथ्यो।
चुल्होको धुवाँले यो घरको छानो मात्र होइन, आकाशसम्म घरको अस्तित्व कोरेको थियो।
तर आज…यो घर मौन छ।
ढोकामा ताला छैन, तर कोही पसेको छैन। झ्याल खुल्ला छ, तर हावा पनि चुपचाप पसेर फर्कन्छ।
चुल्हो चिसो छ, छानाको खर झरिरहेका छन्।
घरको आँगन अब घाँसले ढाकिएको छ, कुनै बेला पाइलाहरूले गुञ्जिएको आँगनमा, अब झारले मात्र सास फेर्छ।
यो घरले अझै पनि बाटो हेर्छ— कसैले फर्केर आऊन् भनेर।
सायद त्यो छोरी जो सहरतिर गएकी थिई, सायद त्यो छोरो जो रोजगारीको पछि विदेश लाग्यो, सायद त्यो बुढा आमाबुबा जो अन्तिम आशामा टोलाउँदै छन्… मान्छे गएका छन्, तर घर त अझै उभिएको छ— एक्लो, चिसो, अनि मौन।
यो घर अब केवल बासको लागि संरचना होइन, यो एउटा सम्झनाको थलो हो।
एउटा उजाडिएको मुटु हो, जसले माया, हाँसो, र जीवनको पुराना कथा लुकाएर राखेको छ।
सहरको रंगीन संसारमा हामी गुम्दा, गाउँको यस्ता घरहरूले चुपचाप हाम्रो प्रतिक्षा गरिरहेका छन्।
कुनै दिन फर्केर आउने छौं भनेर… कुनै दिन फेरि चुल्हो बल्नेछ भनेर… तर त्यो दिन कहिले आउँछ — थाहा छैन।
किनकि घर कहिल्यै पुरानो हुँदैन, सम्झना मेटिँदैन र मायाले बनाएको ठाउँ कहिल्यै मर्न सक्दैन।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

रक्तदान

राजु क्षत्री अपुरो जङ्गलमा पशुपंक्षीहरूको आफ्नै दुनियाँ थियो। उनीहरूले पनि आ आफ्नो सङ्गठन बनाएका थिए।…

20 hours ago

प्रविधि

फिराक गोर्खाली असम "तिमीहरूलाई अचेल मात्र फोन, फोन। दिनभरि हेरेर पुगेन, अब सुत्ने बेलामा पनि…

21 hours ago

बालबालिकाको गोपनीयता हक

प्रेमनारायण भुसाल प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा…

2 days ago

“बादल”

कृष्णशरण उपाध्याय पौडेल आकाश मा बादल छाउँदै छ गर्जेर चीसो जल ल्याउँदै छ बुटाबुटी साथ…

2 days ago

परिस्थिति

सुमन कडरिया, चितवन “बाबा, मान्छे झुटो बोल्न किन डराउँदैनन् ?” गजल लेखिरहेका बाबालाई छोराको प्रश्नले…

2 days ago

“स्नेहले हँसाउने बुबामुमा सुखी रहून्”

घनश्याम रेग्मी भोक शोक रोगका गरी निदान राम्ररी बालबालिका खुसी बनाउँदै सधैँभरि शैलझैँ खडा भई…

3 days ago