Categories: कविता

“छन्द”


खोलाघरे साहिलो

छङ् छङ् छङ् झर्छ झर्ना अविरल गतिमा छन्दकाे नाद छर्दै
ज्ञानी,ध्यानी,किसानी सब जनमनमा स्नेह/आह्लाद भर्दै
खाेला,खाेल्सा नदी वा नद,नहर सबै छन्दकल्लाेल बुन्छन्
मान्छे त्याे माधुरीमा अतिशय रत भै छन्दजस्तै सुसेल्छन्।

भाले एकाबिहानै “कुँककुँक कुखुरी काँ” गरी छन्द वास्छन्
डाँफे,क्वैली,जुरेली चिरबिर लयमा छन्दकै गान थाल्छन्
हावा चल्दा सुसेल्छन् वन/उपवनका वृक्षले स्निग्ध छन्द
विद्युत् धारा उगेल्ने गडड गडगडे मेघले बाेल्छ छन्द।

बाजाले छन्द बाेल्छन् ढकढक तबला,नर्सिगा “थुत्तुरी ध्वाँ$$!
ट्याम्काे,झ्याली,दमाहा समुचित लयमा छन्दकै रागवाला
“धिन्ताङ् धिन्ताङ् धिताङ् ताङ् “सुरसँग समला/झ्याउरेमा मृदङ्ग
छन्दैकाे दिन्छ भाका रसिक रस लिई बन्दछन् मुग्ध/दङ्ग।

छन्दैमा वेद बाेल्छन्,उपनिषद सबै ,नीति छन् छन् छन्दभित्र
छन्दै सङ्गीत सारा कविकृति र कला ,छन्दभाषा विचित्र
गाेष्ठी,भेला,सभाका विविध वचन जाे छन्दले रम्य बन्छन्
बच्चाका बाेल,भाषा ,रसमय हुनुले ,छन्दकै रङ्ग दिन्छन्।

धेरै धेरै क्रिया छन्,गतिविधि सब छन् छन्दले छाेइएका
बाेली,वाक्यांश ,सारा लवज प्रिय हुने छन्दले माेरिएका
यस्तो याे छन्द गाेडाैं कविगण सबले गर्व पूर्वीयकाे याे
साहित्यस्तम्भ अग्लाे दिनदिन बनियाेस्, शान बोकेर हाम्राे!

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

रक्तदान

राजु क्षत्री अपुरो जङ्गलमा पशुपंक्षीहरूको आफ्नै दुनियाँ थियो। उनीहरूले पनि आ आफ्नो सङ्गठन बनाएका थिए।…

14 hours ago

प्रविधि

फिराक गोर्खाली असम "तिमीहरूलाई अचेल मात्र फोन, फोन। दिनभरि हेरेर पुगेन, अब सुत्ने बेलामा पनि…

15 hours ago

बालबालिकाको गोपनीयता हक

प्रेमनारायण भुसाल प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा…

2 days ago

“बादल”

कृष्णशरण उपाध्याय पौडेल आकाश मा बादल छाउँदै छ गर्जेर चीसो जल ल्याउँदै छ बुटाबुटी साथ…

2 days ago

परिस्थिति

सुमन कडरिया, चितवन “बाबा, मान्छे झुटो बोल्न किन डराउँदैनन् ?” गजल लेखिरहेका बाबालाई छोराको प्रश्नले…

2 days ago

“स्नेहले हँसाउने बुबामुमा सुखी रहून्”

घनश्याम रेग्मी भोक शोक रोगका गरी निदान राम्ररी बालबालिका खुसी बनाउँदै सधैँभरि शैलझैँ खडा भई…

3 days ago