
अम्बिका धिताल
कालो यो मेघ गड्याङ र गुडुङ गगन ढाकेर
पर्यो है झरी यो छातीभरि आँसु नै डाकेर
अँध्यारो भयो डाँडा र काँडा हुस्सुले छोपेर
रुँदैछ बादल दुःखीको कथा मनमा रोपेर।
पानीको भेल बढ्दैछ हेर मनमा छल्केर
बाढीको क्रिडा बढ्दैछ पीडा मनमा बल्केर
हिमाल,पहाड, तराई सारा रुझेर बसेका
पानीको चाप बढाई राप सुस्तरी खसेका ।
खोला र नाला बढेर आए छङ्छङ झरना
बाढीको त्रास छैन नि आश माटोकै भरमा
दु:खीको घर छानोमा प्वाल पानी पो चुहियो
बढ्यो नि शोक पेटमा भोक सपना कुहियो।
हरिया डाँडा धमिलो भई बगेर झरेका
पहिरो जाने डरले यहाँ बस्ती नै सरेका
माटो र ढुङ्गा बगेर जाँदा पहिरो खसेका
दुःख र दर्द पहिरो भित्र मानव फसेका।
चिप्लो छ बाटो हिलो छ माटो खोसियो साहारा
खेती र बाली डुबायो सारा को दिन्छ आहारा
श्रमीको श्रम पिरले मन बगायो पसिना
आँसुको ढिका मुटुको माझ बज्रियो असिना।
गुँडका पन्छी खुम्चाई प्वाँख टोलाइ बसेका
जनावर पनि ओत नै खोज्दै गुफामा पसेका
आकासैबाट पोखियो दुःख संसार भुलेर
हरायो घाम गएन बादल अझै नि फुलेर।
झरीको कथा दुःखीको व्यथा खोलीको लयमा
मानव चोला बगेको खोला प्रकृति भयमा
हे दैव भन्दै मानिस सबै दुई हात जोडेर
लैजाऊ झरी संसारबाट टाढा नै मोडेर ।
घामको ज्योति छरेर मोती बादल फाटोस् है
यो कालो बादल गगन चिरी चाँडै नै हटोस् है
सुकेर जाओस् हिलो र मैलो उज्यालो छाओस् है
सुखको याम खुसीको घाम चाँडै नै आओस् है ।
कहिले बाढी कहिले झरी जीवन त्रासमा
नपरोस् रुन अबका दिन बस्या छौँ आशमा
प्रकृति तिमी जनको दुःख बुझेर बाँचिदेऊ
दुःख र पीडा हटाई सारा उमङ्ग डाकिदेऊ।





