
अम्बिका धिताल
कमलविनायक भक्तपुर
झिली र मिली बत्तीको पर्व
राम्रो छ तिहार
पशु र पन्छी सबको पूजा
दिदीभाइ पियार
पहिलो दिन कागको पूजा
देखिन्छ चहक
धर्तीको शोभाथप्ने
त्यो काग सन्देश वाहक।
दोस्रोमा दिन कुकुर पूजा
बढ्दछ रबाफ घरमा
सधैँ सुरक्षा दिने
माया छ अपार
तेस्रोमा दिन लक्ष्मीको पूजा
पर्दछौँ पाउमा
रङ्गोलीसँगै दियोमा
बत्ती चम्कियो साँझमा।
धैर्यको भाव जागेको हाम्रो
नेपाली पनमा
मनको कालो हटाई राखौँ
सद्भाव मनमा
नेपाली धर्म संस्कृति कला
किसानी जीवन
लक्ष्मीको रूप गाईको पूजा
क्या राम्रो मिलन।
गोरुको पूजा गरेर
सबै हाँसी र खुसी छन्
गोवर्धन पूजा भनिने दिन
उमङ्ग थप्ने
झन् सेल र रोटी खाएर
सबै पिङमा रमेका
देउसी भैलो खेल्नलाई
साथीभाइ जमेका।
अन्तिम दिन दिदी र भाइ
टिकामा रमाई
इन्द्रेणी सरी त्यो सात रङ्ग
निधारमा सजाई
नओइलिने मखमली फूल
हाँस्दछ गलामा
यो दीर्घायुको कामना
गर्ने दिदीलाई सलाम।
काग र कुकुर गाई र गोरु
यम र यमुना
तिहार हाम्रो बचाई राखौं
विश्वको नमुना
एकता राम्रो चिनारी
हाम्रो नेपाली शान यो
सगरमाथा जत्तिकै उच्च
नेपाली मान यो।





