Notice: Constant DISALLOW_FILE_EDIT already defined in /home/sarathib/public_html/wp-content/themes/Newspaper/functions.php on line 5
दशैँ, खबर ल्याऊ है | सारथि बाल पत्रिका
Categories: कविता

दशैँ, खबर ल्याऊ है


अन्जु चालिसे रुपान्जली

तिमी आउँदैछौ रे,
गाउँका गोरेटो हुँदै,
पहाडमा घाम छर्दै,
कसैको आँगनमा खुसी,
कसैको आँखामा आँसु बनेर झर्दै।

भन न दशैँ,
कहाँ आइपुग्यौ?
मेरो गाउँको चौतारी काट्यौ कि काटेनौ?
त्यही पीपलको छहारीमा
एकछिन थकाइ मार्यौ कि मारेनौ?
मेरो घर जाने गोरेटोमा
अझै मेरा पाइतालाका डोब छन् कि छैनन्?
कि समयको धुलोले
ती सबै सम्झनाका बाटा छोपिसक्यो?

त्यही जस्तापाताले छाएको घर,
जहाँ आमा ढोकामा उभिएर
मेरो बाटो हेर्थिन्,
जहाँ बुबा साँझ परेपछि
म फर्किने समय गन्दै बस्थे।
यसपालि त्यहाँ पुग्यौ भने
घरलाई सोधिदिनू है—
उसलाई मेरो सम्झना छ कि छैन?

यो वर्ष गाउँमा
लिङ्गे पिङ हालियो कि हालिएन?
‘चचहुई!’ भन्दै आकाश छुने
ती बालापनका आवाज
यसपालि पनि गुन्जिए कि गुन्जिएनन्?
मैले रोपेका सयपत्री, गोदावरी र मखमली
फुले कि ओइलाए?
देवीथान र पञ्चकन्यामा
पहिलो जमरा चढाइयो कि चढाइएन?
पूजा कोठामा कलश सजियो कि सजिएन?
थालीमा अक्षता र जमरा
पहिलेजस्तै सजाइए कि सजाइएनन्?

आमा-बुबा छँदा त्यो घर
धूप र दीपको सुगन्धले भरिन्थ्यो,
शङ्ख र घण्टीका नाद
र मन्त्रका स्वरले
घरको कुनाकाप्चासम्म पवित्र बन्थ्यो।
दुवैको गोलोक प्रस्थानपछि,
हाम्रो सुखशान्तिका लागि
हवन गर्ने पुरेतसमेत नरहेपछि,
अब कसले समिधा थप्छ होला?
कसले देवीलाई अक्षता चढाउँछ होला?
आमाको स्पर्श खोज्दै
शङ्ख र घण्टी पनि
कतै मौन त भएका छैनन्?

ए दशैँ!
यसपालि कोदो र धानका बाला
हावासँगै झुले कि झुलेनन्?
कान्लामा काँक्रा र फर्सी फले कि फलेनन्?
परालको कुन्यु ठड्याउँदा
कसले हातेमालो गरे होलान्?
गोठको बाछोलाई
घाँस कसले खुवाउँदै होला?
अन्नका दानासँगै
किसानका घरमा खुसी भित्रियो कि भित्रिएन?

दशैँको आहटसँगै फर्किने चराहरू
अझै गाउँमा आउँछन् कि आउँदैनन्?
साँझमा झ्याउँकिरी र गाइने किराहरू
उस्तै गरी गाउँछन् कि गाउँदैनन्?
बाँसघारीमा बास बस्नुअघि
मैले अन्न छर्दा गनगन गर्ने सारौटेहरू
मलाई सम्झन्छन् कि सम्झँदैनन्?

यहाँ पनि चरा उड्छन्, दशैँ,
तर तिनको उडानमा मेरो गाउँ छैन।
यहाँ पनि साँझ पर्छ,
तर त्यो साँझमा
घर फर्किने गोरेटो छैन।
आकाश उस्तै छ, चराहरू पनि उस्तै,
तर मेरो मन अडिने हाँगो
यतै कतै भेटिँदैन।

ए दशैँ!
रातो माटो र सेतो कमेरोले
आमाले लिप्ने त्यो घर
यसपालि कसले लिप्दै होला?
आँगनको झार कसले उखेल्दै होला?
तुलसी मठमा पानी कसले चढाउँदै होला?
ढोकाको सँघार कसले सजाउँदै होला?

नयाँ लुगा लगाएका बालबालिका,
हजुरबुबाको हात समातेका नातिनातिना,
आमाको पछ्यौरी समातेर
टीका थाप्न जाने छोराछोरी देख्दा
मेरो बालापनको सम्झना
तिमीलाई आउँछ कि आउँदैन?

ए दशैँ,
आमा बितेपछि घर उस्तै हुन्छ र?
बुबा बितेपछि आँगन उस्तै देखिन्छ र?
आमाले मायाले बोलाउने मेरो नाम
त्यहाँ अझै गुन्जिन्छ र?
बुबाले ढोका खोल्दै भन्ने
“आइस् नानी?”
त्यो आवाज अब कुन कुनामा खोजूँ होला?

घर उही छ,
आँगन उही छ,
पिँढी उही छ,
तर घरलाई घर बनाउने
ती मायालु मान्छे छैनन्।
दशैँ त हरेक वर्ष आउँछ,
तर स्वागत गर्ने ती हातहरू
अब सँघारमा भेटिँदैनन्।

यसपालि मेरो गाउँ पुग्यौ भने
मेरो घरको आँगनमा
एकछिन बसिदिनू है।
आमाको सम्झनामा फुलेको मखमली छुनू है,
बुबा बस्ने गरेको पिँढीमा
केही बेर मौन बसिदिनू।
पूजा कोठामा शङ्खको नाद सुनाइदिनू है,
कलशको जमरालाई
मेरो नाम सुनाइदिनू,
अनि तुलसी मठको दियो
निभ्न नदिनू है।

त्यही दियोको उज्यालोमा
मेरो बालापन,
आमाको मुस्कान
र बुबाको आशीर्वाद
अझै कतै बाँकी छन् होला।
एकपटक खोजिदिनू है।

मेरो खबर सोधे भने भनिदिनू—
“ऊ टाढा छे,
तर घर बिर्सेकी छैन।
शरीर परदेशमा छ,
मन अझै त्यही आँगनमा छ।
फर्किन त चाहन्छे,
तर बाध्यताले बाटो छेकेको छ।
हरेक दशैँमा
उसको मन घर पुग्छ,
आमाबुबाको सम्झनामा
चुपचाप सिरानी भिज्छ।”
ए दशैँ!

तिमी त हरेक वर्ष आउँछौ,
तर मेरा आमाबुबा
फेरि फर्केर आउँदैनन्।
तिमीले टीका र जमरा ल्याउँछौ,
तर ती मायालु हातहरू
फर्काएर किन ल्याउँदैनौ?

त्यसैले त सोधिरहेकी छु—
ए दशैँ, तिमी कहाँ आइपुग्यौ?
मेरो गाउँ नजिकै पुग्यौ कि?
मेरो घरको बाटो चिन्यौ कि?
मेरो आँगनको धुलो टेक्न
अब कति बेर लाग्ला?

तिमी त हरेक वर्ष घर पुग्नेछौ,
मेरा जन्मघरका हरेक कुनामा
मेरा सम्झना भेट्यौ भने
तिनलाई छामिदिनू है।
दशैँ, त्यहाँको खबर
यहाँसम्म पुर्याइदेऊ है।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“खोइ !”

हरिशरण ढुङ्गाना दसैं आयो तिहार आयो नाना किन्या खै बिदा भयो घरै छु म मिठो…

20 hours ago

“जमरा”

शशी अर्याल टीकासँग जमरा सजाएर शीरमा हाँसीखुसी देखिए काेही छैनन् पिरमा। अँध्यारो त्याे काेठामा मन्दिर…

2 days ago

पाठ्यक्रम परिमार्जन: लोकप्रियताको भ्रामक बाटो नबनोस्

प्रेमनारायण भुसाल शिक्षा केवल अक्षर चिन्ने र परीक्षा उत्तीर्ण गर्ने यान्त्रिक प्रक्रिया होइन। यो कुनै…

2 days ago

बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय

मन्त्री सिता बादीको उपस्थितिमा विद्यालय सञ्चालनका लागि समझदारीपत्रमा हस्ताक्षर ललितपुर, असोज ३०। भोटेकोशी रसुवा बाढीबाट…

3 days ago

नटालिने छिद्र

महेन्द्र न्यौपाने लोकन्थली,भक्तपुर “एउटी किशोरीको दिनदहाडै बलात्कार भयो त?” एक पत्रकारले एआईलाई सोधे। “यो दण्डहीनताको…

3 days ago

मुकुण्डो

सालिक राम सत्याल बाँके ३खजुरा, हाल-मलेसिया हरिप्रसादको समाजसेवाको चर्चा गाउँदेखि सहरसम्म फैलिएको थियो। गरिबका पीडामा…

3 days ago