सालिक राम सत्याल
बाँके ३खजुरा, हाल-मलेसिया
हरिप्रसादको समाजसेवाको चर्चा गाउँदेखि सहरसम्म फैलिएको थियो। गरिबका पीडामा आँसु झार्ने असहायका पक्षमा बोल्ने र अरूलाई परोपकारको पाठ सिकाउने उनको बानी थियो।
एक साँझ बाटोमा चिसोले कठ्याङ्ग्रिएको बालकले उनीसँग सहयोग माग्यो। हरिप्रसादले खल्तीबाट दस रुपैयाँ निकालेर उसको हातमा थमाए। त्यसपछि बालकसँगै उभिएर तस्बिर खिचे र घर पुग्नेबित्तिकै सामाजिक सञ्जालमा पोष्ट गरे।
केही बेरमै प्रशंसाका शब्द र मन पराएका सङ्केतको ओइरो लाग्यो। हरिप्रसाद खुसीले मुस्कुराए।
त्यत्तिकैमा दस वर्षे छोरा कोठामा आयो।
बुवा हाम्रो घर बनाउने काकाको छोरा बिरामी छ रे। औषधि किन्ने पैसा नभएर छटपटाइरहेको छ। हामीले केही सहयोग गरौँ न!
हरिप्रसादको अनुहार एकाएक बदलियो।
जसलाई पनि पैसा बाँड्दै हिँड्ने ? आफ्नै कमाइको माया छैन तिमीलाई ? जाऊ मलाई काम गर्न देऊ !
छोरा चुपचाप बाहिरियो।
केही बेरपछि हरिप्रसादको मोबाइलमा नयाँ टिप्पणी आयो हजुरजस्तो दयालु मन भएको मान्छे समाजले पाउनु सौभाग्य हो।
उनले खुसी हुँदै धन्यवाद लेख्न लागेका मात्र के थिए बाहिरबाट छोराको आवाज सुनियो, “काका चिन्ता नगर्नुस् बुवाले अहिले पैसा दिनुभएन। म आफ्नो खाजा खाने पैसा बचाएर औषधि किनिदिन्छु।”
हरिप्रसादका औँला मोबाइलको पर्दामै रोकिए।
पर्दामा उनको मुस्कुराइरहेको तस्बिर थियो। ढोकाबाहिर भने छोराको खल्तीबाट खसेको एउटा सिक्का भुइँमा गुडिरहेको थियो।
मन्त्री सिता बादीको उपस्थितिमा विद्यालय सञ्चालनका लागि समझदारीपत्रमा हस्ताक्षर ललितपुर, असोज ३०। भोटेकोशी रसुवा बाढीबाट…
महेन्द्र न्यौपाने लोकन्थली,भक्तपुर “एउटी किशोरीको दिनदहाडै बलात्कार भयो त?” एक पत्रकारले एआईलाई सोधे। “यो दण्डहीनताको…
रमेशचन्द्र घिमिरे पानी पर्न छोडेर अब घमायो दसैँ आइसकेछ कान्छो रमायो बाको हातमा कापी र…
रञ्जुश्री पराजुली नाम त उसको मनोज हो तर घरमा सबै मायाले "लुरे " भनेर बोलाउँछन्…