“नानीबाबुहरू”


अवतार ढकाल

नानीबाबुहरू
पृथ्वी बनाउँछन्
आकाश बनाउँछ्न्
पानी बनाउँछन्
जमिन बनाउँछन्
फरक फरक रङ भर्छन्
तर देशहरू बनाउँदैनन्
उनीहरूलाई प्रकृति मन पर्छ
राजनीति मन पर्दैन।

नानीबाबुहरू
मान्छे बनाउँछन्
केटा बनाउँछन्
केटी बनाउँछन्
तर जात बनाउँदैनन
थर बनाउँदैनन्
उनीहरूलाई मान्छे मन पर्छ
मान्छेको बिभाजन मन पर्दैन।

साँच्चै अनौठा हुन्छन् उनीहरू
उनीहरू
कपडा फुकाल्न
पर्खाल भत्काउन
पिंजडाको ढोका खोल्न
र यस्तै धेरै
ठूलाहरूलाई खराब लाग्ने
असल काम गर्न मन पराउँछन्।