
रबिता महर्जन
खोकना, ललितपुर
व्यायाम भन्दै धेरै पटक एउटै बाटो ओहोर दोहोर गरिसकेपछि मात्रै दुर्योधनको आँखा बाटो छेउ फुलिरहेका फूलहरु माथि पर्छ । फूलहरु रमाउदै वायुमण्डल सुगन्धित बनाउनमै तल्लिन देखिन्थे । फूलहरू क्रमशः नियाल्दै गर्दा एउटा फूलमा गएर उनका आँखा टक्क अडिन्छन् ।
बोट खासै हराभरा छैन । एउटै मात्र फूल फुलेको । अरू फुल्ने छाँटकाँट पनि देखिदैन । तर त्यो एउटै फूलको सुगन्धले अरू सयौँ फूलहरुको सुगन्धलाई मात दिइरहेको थियो । अनायास दुर्योधनको हात टिप्नलाई अघि बढ्छ –
“पर्ख ! नटिप ” आवाज आउँछ ।
हातले फूललाई एकपटक स्पर्श गर्छ । फेरि टिप्न खोज्छ ।
“नटिप मलाई ! म पूर्णरुपमा फुलिसकेकी छुइन । मलाई फुल्न देऊ । म फुल्न चाहन्छु।”
आवाज भ्रम होला भन्ठानेर हातले तोड्न खोज्छ । बोटमा भएको काँडाले हात कोपरिन्छ । फूलको सुगन्धले मोहित र लठ्ठ भइसकेको ऊ कुनै हालतमा छोड्न चाहँदैन । उनको नियत थाहा पाई फूलले भन्यो-
“मलाई तोडेर कहाँ राख्छौ, कुन ठाउँमा सजाउँछौ, घर गएर पहिले तयारी गरेर आउ। त्यसपछि म राजीखुशीले तिमीसँगै जानेछु।”
ऊ फर्कियो । घर पुगेको केही छिनमै अवैधानिक रुपमा बनाएको घर भन्दै डोजरले भत्काइयो । घर भत्किएर पूर्णरुपमा ध्वस्त भयो । धेरै समय विलाप गरिसकेपछि आफ्नो व्यवस्थापन गर्नमै ऊ व्यस्त भयो । फूललाई पूर्णरूपमा भुल्यो। फूल पनि रमाएर आफ्नै ठाउँमा सुवास छर्दै फुलिरह्यो।





