“लापरबाही”


चेतनाथ दाहाल

“यो के हो ममी ?” ज्वरो आएर सुतेको आफ्नो लोग्नेलाई औषधि ख्वाउँदै गरेकी जमुनालाई साढे चार बर्ष जतिको छोराले जिज्ञासा राख्यो। “यो तेरो बाबालाई ऐया भएकोले ख्वाउने औषधि हो” उनले सहज उत्तर फर्काईन् । “हैन यो त गोलो मिठाई जस्तो छ, मलाई एउटा दिनु न ममी” बच्चाले बाल हठ गर्यो। “केटाकेटीले खान हुन्न के यो।” उनले यसरी नै सम्झाईन् र ” हिँड बाहिर मुनेसँग खेल्न” भन्दै उसलाई आगनमा बाख्राका पाठा सँग अलमल्याएर आफू पनि बाख्रालाई घाँस पानी दिने, आगन सफा गर्ने काममा लागीन्। एक डेढ घन्टा पछि उनले त्यहा बच्चा देखिनन् बाहिर कतै नदेखेपछि उनी हडबडाउँदै भित्र गईन्। भित्र जाँदा बच्चा लठ्ठ भएर सुतिरहेको थियो। उनले बच्चालाई बोलाईन्,चलाइन् तर बच्चा अर्ध चेतमा थियो। रुदै चिच्याउँदै गर्दा उनको नजर अघि लोग्नेलाई ख्वाएको औषधिको पत्तामा पर्यो। उक्त पत्ताबाट एउटा गोली घटेको थियो।